आयल निगमको स्टेप बाई स्टेप सुधार

  Sampatti News

January 1, 2021

काठमाडौं । नेपाल आयल निगम कोरोनाले थलिएको अर्थतन्त्र र बाँकी रहेका कामलाई पुर्णता दिन सकृय भएर लागेको छ । निगमले कोरोनाबाट चलायमान बनेको परिस्थितिलाई प्राथमिकता दिदैँ नयाँ–नयाँ योजनाहरु अघि सार्नुको साथै रोकिएर रहेका कामलाई पनि अगाडी बढाइरहेको छ । महत्वपूर्ण योजनाका रुपमा हेरिएको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सफलतापछि निगमले अन्य योजनाहरुमा सकृयता बढाएको हो । तत्काल निगम मुख्य ६ योजनाहरु अघि सारेर कामको थालनि गरेको छ ।

निगमले जनकपुरमा एलपीजी ग्यासका लागि भण्डार गृह बनाउने तयारी सुरु गरेको छ । हालसम्म निगमसँग एलपी ग्यासको भण्डारण गृह थिएन । त्यस्तै पोखरामा ५–५ हजार किलोलिटरको दुई फ्युल डिपोको निमार्ण कार्य सुरु भइसकेको छ । यस्तै, निमार्णाधीन पोखरा र गौतमवुद्ध विमानस्थलमा पनि आधुनिक हवाइ इन्धन डिपो बनाउने योजनामा निगमले काम अगाडि बढाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । अत्याधुनिक कर्पोरेट अफिस बनाउने तयारीमा समेत निगम रहेको उनको भनाई छ ।

यसरी नै निगमले अमलेखगञ्जको पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र सिलगुडीबाट झापासम्म अर्का अन्तरदेशीय पाइपलाइन निमार्ण गर्ने लगायतका योजनामा गृहकार्य सुरु गरिसकेको पौडेलले सम्पत्ति न्यूजलाई बताए । उनले थपे ‘सिलगुडीबाट झापासम्मको रुट पहिचानको लागि सर्वे भइसकेको छ । निगमलाई अझ व्यवस्थित, पारदर्शी, बनाउन सूचना प्रबिधिको सहयोग लिएर अटोमेशनको काम अगाडि बढाएको छ ।’

निगमले थालनि गरेको मोतीहारी–अमलेखगञ्ज पाइपलाइनबाट इन्धन ढुवानीको योजनाले पुर्णता पाएको छ । सोही योजनाले पुर्णता पाएसँगै चुहावट, प्रदुषण, ढुवानीमा ढिलाइ हुने समस्या घटेको छ । पाइपलाइनबाट इन्धन आपुर्ति सुरु गरेपछि १ वर्षमा १ अर्ब ४७ करोड रुपैयाँ ढुवानी खर्च समेत जोगिएको पौडेलबमे दावी छ । १५ महिनादेखि सञ्चालनमा रहेको पाइपलाइनले निगमको इन्धन ढुवानीका लागि हुने भाडा एवं अन्य खर्च गरी साढे दुई अर्ब रुपैयाँ जोगिएको निगम स्रमेचले जानकारी दिएको छ । अहिलेसम्म पाइपलाइनबाट करिब ७८ करोड लिटर डिजेल ढुवानी भएको छ । वार्षिक २० लाख हजार किलोलिटर ढुवानी क्षमता रहेको पाइपलाइनबाटै ढुवानी अझैं बढी गर्ने निगमको तयारी छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारीले सबै क्षेत्रमा ठूलो क्षति गरायो । मुख्यरुपमा लकडाउनले सवारी साधन ठप्प रहँदा आयल निगमको बिक्री निक्कै नै कमी भयो। आयातमा पनि कमि आयो । तर पनि व्यवस्थापनलाई चुस्त राखेको कारण उपभोक्ताले कमी महसुश गर्न नपाएको निगमको दावी छ । आर्थिक वर्ष २०७६–७७ को पछिल्ला चार महिना (गत चैतदेखि असारसम्म) मा निगमको बिक्री करिब करिव शुन्यमा नै झर्यो । तर, पनि निगमले आर्थिक वर्ष २०७६–७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । भारतबाटै पेट्रोलियम पदार्थ ल्याएर भारतले उसका उपभोक्तालाई दिने भन्दा सस्तो दरमा नै नेपाली उपभोक्तालाई निगमले पेट्रोलियम पदार्थ बिक्री बितरण गरिरहेको जनाएको छ । निगमले बिगत ५ वर्षयता निरन्तर नाफा कमाउँदै आएको छ । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्यमा घटबढ भइरहे पनि निगमले यसरी निरन्तर प्रगति गर्नुमा कर्मचारी एवं व्यवस्थापन पक्षको ठूलो मेहनत रहेको निगम बताउँछ। आर्थिक वर्ष २०७२–७३ मा भारतीय नाकाबन्दी हुँदा समेत निगमले नाफा कमाएको थियो । सो वर्ष निगमले १९ अर्ब ३६ करोड नाफा कमाएको थियो ।

निगमको प्रत्यक्ष लाभः
पछिल्लो मूल्य अनुसार नेपालमा भारतको भन्दा ३७ रुपैयाँ सस्तोमा डिजेल र ३१ रुपैयाँ सस्तोमा पेट्रोल बेचिरहेको पौडेलले बताए । ‘उपभोक्तालाई चाहिने पहिलो कुरा भनेकै मूल्य र गुणस्तर हो,’ उनले भने । भारतबाटै ल्याएको इन्धन भारतको भन्दा सस्तो मूल्यमा निगमले बिक्री गरिरहेको छ । यसबाहेक इन्धनको गुणस्तरको विषयमा पनि निगमले स्तरीयता रहेको बताएको छ । पछिल्लो समय अमलेखगञ्ज पाइपलाइनबाट इन्धन ढुवानी गर्दा झनै गुणस्तरीय इन्धन बजारमा आपूर्ति हुने गरेको बताए ।

प्रकाशित मिति:January 1, 2021