कुलमान ल्याउने पनि मै हो लोडसेडिङ हटाउने मास्टर प्लान नि मेरै होः उर्जा मन्त्री रायमाझी

  Sampatti News

January 4, 2021

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले कुलमान घिसिङलाई प्राधिकरणमा ल्याएर लोडसेडिङ हटाउने मास्टर प्लानको नाइके आफु रहेको दाबी गरेका छन् । मन्त्री रायमाझीले अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको समेत बताउन भ्याएका छन् ।

मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा १२ देखि १८ घण्टासम्म लोडसेडिङ भएको स्वीकार्दै आफूले ल्याएको ९९ बुँदे मास्टर प्लानबाटै लोडसेडिङ हटेको बताए । तिनै कामका कारण भारतबाट बिजुली ल्याएर लोडसेडिङ हटाएको पनि उनले बताए ।

‘उनले भने ‘ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका प्राविधिकहरुलाई सोध्दा हुन्छ, ९९ बुँदे मास्टर प्लान कसले बनायो ? ढल्केबर–मुजाफरपुर, ढल्बेबर–हेटौंडा, ढल्केबर–खिम्ती प्रसाणलाइन कसले बनायो ?’

उनले १३, १२, ९ वर्षदेखि अल्झिएका परियोजना आफूले २ महिनामै सकाएको बताए । त्यसबाटै लोडसेडिङ हटेको कुरा अहिले पनि प्राधिकरण र ऊर्जा मन्त्रालयका प्राविधिकहरुले भनिरहेको मन्त्री रायमाझीको तर्क छ ।

‘कुलमानलाई प्राधिकरणमा ल्याउन सक्षम पूर्वसचिवहरुबाट मैले मूल्यांकन गराइरहेका थिएँ,’ उनले भने,‘त्यही बेला सरकार ढल्यो, कुलमानको नियुक्तिमा हस्ताक्षर गर्न मात्रै जनार्दन (शर्मा) आईपुगेका हुन् । मैले सही गर्नै भ्याइनँ ।’

तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेलाई एकैपटक हटाउँदा रोक्ने गरी अदालतबाट अन्तिरिम आदेश हुनसक्ने भएकाले प्रक्रिया पुर्‍याउँदा पुर्‍याउँदै सरकार ढलेको पनि उनले दावी गरे ।

‘मैले मूल्यांकनमा ३ महिना समय नलगाएको भए मुकेश काफ्ले फर्केर आउनेवाला थिए,’ उनले भने,‘कुलमानलाई ल्याउन मैले नै प्रस्ताव गरेको थिएँ ।’

मन्त्री रायमाझीले त्यतिबेला लोडसेडिङ चुनौती भएको र अहिले आवश्यकताभन्दा बढी बिजुली उत्पादन हुने अवस्था भएकाले अर्को चुनौती आएको बताए ।

‘भदौसम्म ५ सय मेगावाट बिजुली खरेर जाँदैछ, दैनिक अर्बौंको बिजुली खेर जाँदैछ,’ उनले भने,‘यसरी खेर जाने बिजुली विदेशमा बेच्न प्रसारणलाइन चाहिन्छ ।’

मन्त्री रायमाझीले अब एमसीसीमा अल्भिmएर बस्न नहुने भन्दै मिल्छ भने देश हित विपरितका प्रावधान भए सच्याएर तुरुन्तै काम थाल्नुपर्ने बताए । त्यसो गर्न नसकिए सम्झौता खारेज गरेर आफ्नै लगानीमा प्रसराणलाइन बनाउनुपर्ने उनको बताए ।

उनले प्रणालीमा पछिल्ला दिनमा भार बढी भएर बिजुली कटौती भइरहेको र आफूले त्यसलाई रोक्न प्राधिकरणलाई निर्देशन दिइसकेको बताए ।

उनले जिल्ला अझै पनि लोडसेडिङ नहटेको भन्दै नयाँ सबस्टेसन बनाउने, काठका पोल हटाउने लगायतका काम भएपछि जिलाको लोडसेडिङ हट्ने बताए ।

उनले काठमाडौं वितरण लाइन सुधार्ने गरी सुरु भएको काम खतरनाक भएको बताए । उनले अब विद्युतको तार अन्डरग्राउन्ड गर्ने काम रोक्ने संकेत पनि गरे । उनले अब युटिलिटी करिडोरमार्फत बिजुजी, इन्टरनेट, टेलिफोन, ढलजस्ता सडकमुनिका पूर्वाधार एउटै प्रणालीमा राखिने बताए ।

‘सडकमा काम गर्दा एस्काभेटर लगाउनुपर्छ, यो कामले कति मान्छे मर्ने हुन थाहा छैन,’ मन्त्री रायमाझीले भने,‘कुलमानजीहरुले १२ अर्ब जतिको ठेक्का त लगाइसक्नुभएछ, यात्रुले त झन खतरा भयो ।’ अब यसलाई सुधाररे अगाडी बढ्नुपर्ने हुन्छ ।

कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु गलतः शंकर पोखरेल

प्रकाशित मिति:January 4, 2021