आधाभन्दा बढी उद्योग पूर्ण सञ्चालनमा आइसकेको राष्ट्र बैंकको दाबी

  Sampatti News

January 13, 2021

काठमाडौं । कोभिड–१९ का कारण बन्द हुन पुगेका उद्योग तथा व्यवसायमध्ये करीब ५४ प्रतिशत सञ्चालनमा आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मंगलवार कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनमा अझै ९ दशमलव १ प्रतिशत उद्योग÷व्यवसायहरू सञ्चालनमा आउन नसकेको विवरण सार्वजनिक गरेको छ ।
पछिल्लो समय क्रमशः सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालनमा सुधार आए पनि साना तथा मझौला उद्योग भने तुलनात्मक रूपमा कम सुधार भएको केन्द्रीय बैंकको भनाइ छ । प्रतिवेदनअनुसार अधिकांश ठूला उद्योगहरूको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको छ ।

मङ्सिरसम्ममा सबैभन्दा राम्रो व्यवसाय सञ्चालन गर्नेमा विद्युत्, ग्यास तथा पानी उद्योगहरू रहेका छन् । यस अवधिमा ६६ दशमलव ६७ प्रतिशत यस्ता उद्योग पूर्ण सञ्चालनमा आएका छन् भने ३३ दशमलव ३३ प्रतिशत उद्योग सञ्चालन हुन सकेका छैनन् । त्यस्तै मङ्सिरसम्ममा ६४ दशमलव ९७ प्रतिशत थोक तथा खुद्रा व्यापार पूर्ण सञ्चालनमा छन् भने ३१ दशमलव ६४ आंशिक र ३ दशमलव ३९ प्रतिशत भने सञ्चालन हुन सकेका छैनन् । कृषि वन तथा मत्स्यपालन क्षेत्र ६३ दशमलव ६४ प्रतिशत पूरै सञ्चालन, ३३ दशमलव ३३ आंशिक र ३ दशमलव शून्य ३ प्रतिशत सञ्चालन हुन सकेका छैनन् ।

उत्पादनमूलक उद्योगहरू ४९ दशमलव शून्य ४ पूर्ण रूपमा सञ्चालित छन् भने ४२ दशमलव ३१ आंशिक सञ्चालन र ८ दशमलव ६५ प्रतिशत सञ्चालन हुन सकेका छैनन् । यस्तै, २९ दशमलव ७० प्रतिशत होटेल तथा रेस्टुराँ, ४४ दशमलव ४४ प्रतिशत निर्माण उद्योग, ५० प्रतिशत यातायात तथा भण्डारण, ३६ प्रतिशत सञ्चार, ३७ दशमलव ५० प्रतिशत रियल इस्टेट भाडा तथा व्यावसायिक क्रियाकलापहरू पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।

शैक्षिक संगठनहरू भने सबैभन्दा कम सञ्चालनमा रहेका छन् । हालसम्म शिक्षाअन्तर्गत ११ दशमलव ३६ प्रतिशत मात्र पूर्ण सञ्चालनमा रहेका छन् । ५९ दशमलव शून्य ९ आंशिक सञ्चालनमा छन् भने २९ दशमलव ५५ सञ्चालन हुन सकेका छैनन् ।

स्वास्थ्य तथा सामाजिक कार्यहरू ५८ दशमलव ३३ प्रतिशतले सञ्चालनमा छन् । अरू क्षेत्रहरू ४९ दशमलव ३० प्रतिशतले मात्र पूर्ण सञ्चालनमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले पछिल्लो समय आधाभन्दा बढी उद्योग÷व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ । साथै, रोजगारीको अवस्थामा समेत सुधार आई ८७ दशमलव ५१ प्रतिशत पुगेको छ ।

पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा मङ्सिरमा उद्योगरव्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो । सर्वेक्षण प्रतिवेदनअनुसार कोभिड–१९ का कारण उद्योग तथा व्यवसायहरूले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिन भएको र थप कर्जा प्राप्त गर्न कठिनाइ भएको छ ।

राष्ट्र बैंकले २०७७ कात्तिक १३ गतेदेखि २०७७ मङ्सिर २४ सम्म ५२ जिल्लाका ६ सय ७४ उद्योगीरव्यवसायीहरूका माझ सर्वेक्षण गरेको थियो ।

राष्ट्र बैंकले यसअघि जेठ २६ गतेदेखि असार १० गतेसम्म गरेको सर्वेक्षणबाट तथ्यांक संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१ दशमलव ०३ प्रतिशत उद्योग÷व्यवसायहरू सञ्चालन हुन नसकेको र ४ दशमलव १ प्रतिशत उद्योगरव्यवसायहरू मात्र पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो । नेपालले कोरोना महामारी रोकथामका लागि चैत ११ गतेदेखि बन्दाबन्दी लगाएको थियो । संक्रमण रोकथामका लागि अपनाइएका गैरस्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरूलाई क्रमशः खुकुलो बनाउँदै लगिएसँगै आर्थिक गतिविधि सञ्चालनमा सहजता आएको राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित मिति:January 13, 2021