माघे संक्रान्तिको चहलपहल, तरुलको मूल्य बढ्यो

  Sampatti News

January 14, 2021

काठमाडौं । माघे संक्रान्तिको लागि तरुल किन्नेहरुको तरकारी बजारमा भिड देखियो । माघे संक्रान्तिमा देशैभर अत्यधिक तरुल खपत हुन्छ ।

काठमाडौं उपत्यकालगायतका तरकारी बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, वन तरुल, घर तरुल, पानी तरुलको माग बाढी भएको थियो । तर, मागअनुसार तरुल आएन । जति तरुल उपत्यकामा भित्रिएको छ, व्यापारीले धमाधम बेचिरहेका छन् ।कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किन्नको भिड लाग्यो । बौद्धकी कुसुम तामाङले तरुल किन्न लाइन बस्नुपरेको बताइन् । उनी भन्छिन्, ‘माघे संक्रान्ति पो हो त, जति महँगो भए पनि संक्रान्ति मनाउनै पर्छ पो । तरुल बजारमा सकिएला कि भन्ने डरले हतार–हतार बजार जानुपरेको छ ।’’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरुल काठमाडौंमा गत वर्षको तुलनामा दोब्बर महँगो भएको छ । राजधानीमा मागभन्दा कम तरुल आएको हुनाले दोब्बर महँगिएको हो ।

समितिका अनुसार तरुल गत वर्ष प्रतिकेजी ४० देखि १२० रुपैयाँसम्ममा किनबेच भएको थियो । तर, यो वर्ष भने प्रतिकेजी ८० देखि १८० रुपैयाँमा किनबेच भइरहेको छ ।

समितिका उपनिर्देशक विनय श्रेष्ठले गत वर्ष माघे संक्रान्तिको समयमा एक हजार २९३ टन तरुल भित्रिएकोमा यस वर्ष भने भन्डै ९६३ टन मात्रै तरुल भित्रिएको जानकारी दिए । ‘‘आयात गत वर्षभन्दा घटेकाले बजारमा भाउ बढेको हो,’’ उनले भने ।

कालीमाटीका थोक व्यापारी मोतिलाल तामाङले यो वर्ष काठमाडौंबासीको मागअनुसार तरुल नआएकाले गत वर्षभन्दा महँगो भएको बताए । तरुलको भाउ व्यापारीले भन्दा पनि किसानबाट ल्याउँदा नै महँगो भएको उनको भनाइ छ ।

सिन्धुलीबाट तरुल ल्याएर बौद्धको तरकारी बजारमा तरुल बेच्दै गरेका विक्रम तामाङले थोक बजारमा सामान्य तरुल प्रतिकेजी ८० रुपैयाँ, वन तरुल १२०, हात्तीपाइले १३० र सिमल तरुल प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको बताए ।

काठमाडौं उपत्यकामा माघे संक्रान्तिका लागि विभिन्न जिल्लाबाट तरुल भित्रिएको छ । सिन्धुली, रामेछाप, सर्लाही, सुनसरी, मकवानपुर, चितवन, धादिङलगायतबाट तरुल भित्रियो । पिँडालु २३१ टन, सखरखण्ड २५४ टन भित्रिएको जनाइएको छ ।

कालीमाटीमा भित्रिएको तरुलमा ४३ प्रतिशत सर्लाही, १४ प्रतिशत मकवानपुर, १३ प्रतिशत धादिङबाट आएको छ । ४ प्रतिशत भारतबाट आयो । बाँकी २६ प्रतिशत अरु जिल्लाबाट भित्रिएको समितिले जनाएको छ ।

पहिलेका वर्षहरुमा भारतबाट धेरै तरुल भित्रिने गरेको थियो । तर, अहिले स्वदेशी तरुल नै बढी भित्रिएको छ । नेपालमा तरुलको व्यावसायिक खेती सुरु भइसकेको समितिले जनाएको छ ।

प्रकाशित मिति:January 14, 2021