प्रदेश १ मा समाजवादीका राजेन्द्र राई नयाँ मुख्यमन्त्री पक्का

  Sampatti News

October 24, 2021

प्रदेश १ मा समाजवादीका राजेन्द्र राई नयाँ मुख्यमन्त्री पक्का भएको छ ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको हुदा राई नयाँ मुख्यमन्त्रीमा पक्का भएको हो ।

अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिँदै पदमुक्त्त हुने पक्का छ।

आज दिउँसो साढे १२ बजे प्रदेश सभा बैठक बस्दै छ ।

बैठकमा शुक्रबार प्रस्तुत भएको विश्वासको मत लिने प्रस्तावमा दलहरूले छलफल सकेपछि मतविभाजन हुनेछ।

शेरधन राईले राजीनामा दिएपछि १० भदौमा भीमप्रसाद आचार्य मुख्यमन्त्रीमा नियुक्त्त भएका थिए ।

मुख्यमन्त्री बन्नकै लागी आचार्यले माधब नेपालको साथ छाडेर ओली तर्फ लागेका थिए ।

पदमा नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि उनले २५ असोजमा मात्र प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए ।

उक्त्त प्रस्ताव दसैँपछि ५ कात्तिकमा प्रदेश सभामा प्रस्तुत भएको थियो।

प्रदेश १ मा सभामुख र उपसभामुखसहित कुल ९२ सांसद छन् ।

सत्ताधारी दल एमालेमा सभामुखसहित जम्मा ४१ जना छन् ।

विपक्षी दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ , राप्रपाका १ र संघीय लोकतान्त्रिक मञ्चमा १ जना सांसद छन्।

राप्रपाबाहेक सबै विपक्षीहरू गठबन्धनमा भएकोले उनीहरूको कुल ५० मत छ c

यता एमालेका एकजना सांसद गुलेफन मियाँ फौजदारी अभियोगमा फरार भएको र सभामुखले निर्णायक मत मात्र दिन पाउने भएकोले ३९ मत मात्र बाँकी छ। उनलाई विश्वासको मत पुर्‍याउन ४७ जना सांसद आवश्यक पर्छ तर राप्रपाले उनलाई समर्थन गरेमा उनले कुल ४० मत मात्र पाउनेछन् ।

राप्रपाले उनलाई समर्थन नगरेमा उनले ३९ मतमात्र पाउने अंकगणितले देखाउछ ।

प्रकाशित मिति:October 24, 2021