March 16, 2020
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी पूरा गर्नुभएको छ ।
अछाम जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने रावलले नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोगको विषयमा केन्द्रित रहेर विद्यावारिधी गर्नुभएको हो ।
विद्यावारिधी पूरा गर्नुभएपछि रावलले नेपालमा राजनीतिमा हिंसाको कसरी प्रयोग गरिएको छ भन्नेबारे आफूले गहिरो अनुसन्धान गरेको सञ्चारमाध्यामहरुलाई बताएका छन् । उहाँले भन्नुभएको छ, ‘राजनीतिक पात्रहरूले आफ्नो उद्देश्य पूरा गर्न राजनीतिक हिंसालाई कति क्रुरतासम्म लैजान सक्छन भनेर मैले अध्ययन गरेको छु,’ ‘पद र आफ्नो उद्देश्य पूरा गर्न विभिन्न समयमा राजनीतिक पात्र निकै क्रुर भएको देखिन्छ।’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता समेत रहनुभएका रावलले आफ्नो थेसिसमा तत्कालीन माओवादी नेताहरुले पछिल्लो समय राजनीतिको पूरै ट्रयाक परिवर्तन गरेर संविधान सभा चुनाव हुँदै शान्तिपूर्ण राजनीतिमा आएको निष्कर्ष निकाल्नुभएको छ । नेकपामा रावल एक अध्ययनशील तथा वैचारिक नेताका रुपमा चिनिनु हुन्छ । पछिल्लो समय नेता रावल राष्ट्रियताका सवालहरुलाई निकै गम्भीर ढंगले उठाउँदै आउनुभएको छ ।
प्रकाशित मिति:March 16, 2020
April 11, 2025
April 11, 2025