December 13, 2021
काठमाडौँ-नेपालकी अस्मिता भण्डारीलाई विश्व हिन्दु महासंघको कार्यबाहक अध्यक्षमा मनोनित गरिएको छ ।
महासंघको अन्तर्राष्ट्रिय महासभाले महासंघको अन्तर्राष्ट्रिय समितिको कार्यबाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिएको हो ।
मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महासम्मेलन तथा महासभा आयोजना गरिएको थियो ।
काठमाडौंमा आयोजित सम्मेलनमा भण्डारीलाई अध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो ।
महासंघको अध्यक्षको उम्मेदवारलाई प्रस्तावक र समर्थकमध्ये विदेशको एउटा च्याप्टरले समर्थन गर्नुपर्ने भएकोले समर्थन नजुटेपछि विवाद सिर्जना भएको थियो ।
सम्मेलनको उद्घाटन सत्रमा भारत च्याप्टरको तर्फबाट गोरक्ष पीठाधीश्वर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भण्डारीलाई अध्यक्ष प्रस्ताव गर्दै समर्थन गरे पनि अध्यक्षका अर्का प्रत्यासी किशोर गौतमका पक्षधरहरूले सम्मेलनका अतिथिहरूलाई हातपात गर्ने प्रयास गरेपछि सम्मेलन नै केहीबेरका लागि स्थगित भएको थियो ।
बहुमतका साथ महासभा पुनः सञ्चालन भई बृहत् छलफलपछि महासचिवको कार्यकाल सफलतापूर्वक सञ्चालन गरेको भन्दै भण्डारीलाई नै अर्को व्यवस्था नभएसम्म महासभाबाट सर्वसम्मतिले कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।
काठमाडौंमा सम्पन्न महासभामा चारै सम्प्रदायका धर्मगुरुहरू सहभागी थिए ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, संस्थापक सदस्य रहेको सस्था विश्व हिन्दु महासंघ नेपालको महासभा हरेक पाँच वर्षमा हुने गरेको छ ।
प्रकाशित मिति:December 13, 2021
November 24, 2024