सिआइवीमा पनि बेथिती: पैसा मोलमोलाईको आरोपमा सई पक्राउ

Nepal Cover
२८ मंसिर २०७८, मंगलवार
image

सिआइवीमा पनि बेथिती: पैसा मोलमोलाईको आरोपमा सई पक्राउ

काठमाडौँ-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को जिम्मेवारी गम्भीर प्रकृतिका अपराधिक घटना निष्कर्षमा पुर्‍याउने हो ।

अन्य तथा मातहतकै निकायले अनुसन्धान गर्न नसकेका मुद्दाको कारण पत्ता लगाउनसमेत सिआइवीमाथि नै भरोसा गरिएको हुन्छ ।

तर त्यसरी अनुसन्धान गर्ने सरकारको भरपर्दो निकाय सिआइवीका एक प्रहरी कर्मचारी मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा पक्राउ परेका छन् ।

सम्पति शुद्धिकरणसम्बन्धी विभागमा परेको मुद्दा मिलाइदिन्छु भन्दै मोलमोलाई गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी नायब निरीक्षक (सई) विष्णु ढुङ्गाना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

प्रहरीमा परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।

उनीमाथि आपाराधिक लाभ (एक्सटर्सन) कसुर गरेको आरोप छ ।

मुलुकीअपराध संहिताको परिच्छेद २१ को दफा २५३ मा यससम्बन्धी कानूनी व्यवस्था छ ।

उक्त व्यवस्थानुसार कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्‍याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपाराधिक लाभ लिएको मानिनेछ ।

उक्त आरोप प्रमाणित भएमा कम्तीमा एक वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ ।

सिआइवीमा पनि बेथिती: पैसा मोलमोलाईको आरोपमा सई पक्राउ