राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै रातिसम्म

  Sampatti News

January 26, 2022

काठमाडौं-राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

१९ पदका लागि भैरहेकाे निर्वाचनकाे मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

‘कुनै विघ्न बाधा आएन भने मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने आयोगले जनाएकाे छ ।

सात वटै प्रदेशमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

त्यसपछि हुने मतगणनाको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गते सकिने भएकाले आज निर्वाचन गर्न लागिएको हो ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधी प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था अनुसार आगामी फागुन २० मा नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरी १९ सदस्यको पदावधि समाप्त हुँदैछ ।

पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान अनुसार आज १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ ।

रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

प्रकाशित मिति:January 26, 2022