राष्ट्रियसभाको चुनाव परिणामले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्छ: अध्यक्ष नेपाल

  Sampatti News

January 26, 2022

काठमाडौं-सत्तासाझेदार नेकपा (एकीकृत समजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको चुनाव परिणामले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले आफ्नो पार्टीले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरंग पैदा गरिरहेको छ । अहिले हामी ५ दलीय गठबन्धनमा छौँ।

५ दलीय गठबन्धनका सबै दलहरु मिलेर राष्ट्रियसभाको चुनावमा हामीले १९ जना उम्मेदवार खडा गरेका छौँ ।

सातैवटा प्रदेशमा हुने चुनावमा हाम्रो पार्टीबाट ५ जनालाई उम्मेदवारी दिएका छौँ ।

मोआवादी ५ जना, कांग्रेस ६ जना, राष्ट्रिय जनमोर्चा १ र जनता समाजवादीको २ जना गरी यसरी हामीले उम्मेदवार तयार गरेका छौँ ।

ती उम्मेदवारहरुको आज फैसला पनि हुनेछ। हामीलाई आशा छ। १९ वटा स्थानमा हामी नै हामी विजयी हुनेछौँ । त्यो परिणामले पनि तरंग पैदा गर्नेछ।

उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए।

अहिले आफ्नो पार्टी ५ दलीय गठबन्धनमा रहेको र ५ दलीय गठबन्धनका सबै दलहरू मिलेर राष्ट्रियसभाको चुनावमा १९ जना उम्मेदवार खडा गरेको उनको भनाइ थियो ।

उनले स्थानीय तहको चुनाव संविधान र कानुनअनुरुप नै हुनुपर्नेमा जोड दिएका छन् ।

उनले सत्तारुढ दलहरुबीच एकैपटक तीनवटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग विस्तृत छलफल गरिरहेको बताए।

अध्यक्ष नेपालले आज (बुधबार) भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारूढ गठबन्धनहरूले जित्ने दाबीसमेत गरे ।

प्रकाशित मिति:January 26, 2022