अझै केही दिन मौसम प्रभावित हुने

  Sampatti News

February 4, 2022

अझै केही दिन मौसम प्रभावित हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन-चट्याङ-असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिने आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको सो महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात भइरहेको बताइएको छ ।

शनिबार प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

देशका पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच अहिले काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ ।

साथै देशका विभिन्न भूभागमा पनि वर्षा र हिमपात भएका समाचारहरु आइरहेका छन् ।

यो वर्षा र हिमपात शुक्रबार रातिसम्म र देशका कतिपय क्षेत्रमा शनिबार पनि वर्षा जारी रहने बताइएको छ ।

प्रकाशित मिति:February 4, 2022