कोरोना प्रभावः विभिन्न १४ शीर्षकको बजेट स्थगित

  Sampatti News

April 3, 2020

काठमाडौँ । विश्वभर कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण पूर्व सर्तकता अपनाउँदै सरकारले विभिन्न १४ शीर्षकको बजेट रोक्का गरेको छ ।
सेवा तथा परामर्श, कर्मचारीको तालिम, गोष्ठी, सवारी साधनलगायतका शीर्षकको बजेट रोक्का गरिएको अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले महालेखा नियन्त्रकको कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ ।
सरकारले सेवा र परामर्श खर्च्,कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, अति आवश्यकबाहेक, भैपरी आउने चालू खर्च, सवारी साधन, मेसिनरी तथा औजार, फर्निचर तथा फिचर्स, कम्प्युटर सफ्टवेर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्तिप्राप्ति खर्च, पूँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति खर्च र भैपरी आउने पूँजीगत खर्च कटाएको छ ।

‘मन्त्रालयरनिकायको स्वीकृत बजेटको देहाय खर्च शीर्षकमा विनियोजित बजेटमध्ये २०७६ चैत २० सम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको बाहेक बाँकी रहेको बजेट तत्काल लागू हुने गरी २०७६/१२/१९ को निर्णयानुसार रोक्का गरिएको हुँदा यो बमोजिम गर्ने व्यवस्थाका लागि सादर अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

आर्थिक गतिविधि प्रभावित भएकाले राजस्व संकलनमा असर पुगेको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्रोतको व्यवस्थापन समेत गर्नुपरेकाले विभिन्न शीर्षकका बजेट रोक्का गर्नुपरेको सरकारले जनाएको छ ।

प्रकाशित मिति:April 3, 2020