नेकपा माओवादीद्वारा स्थानीय चुनाव बहिष्कार: वैशाख २९ र ३० गते नेपाल बन्द

  Sampatti News

May 3, 2022

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम राखेको छ ।

पार्टी महासचिव कमरेड नेपालद्वारा जारी विज्ञप्ति र पर्चामा उक्त विषय उल्लेख गरिएको छ ।

तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको कार्यक्रम राखेको हो ।

उसले प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाको वैशाख ३० गतेको कथित स्थानीय तहको निर्वाचन सशक्त रुपमा बहिष्कारको घोषणा गरेको हो ।

जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ वैशाख २९ र ३० गते नेपाल बन्द सफल पार्न आग्रह गरिएको छ ।

निर्वाचनको दिन वैशाख ३० गते सरकारले नै सवारी साधन सञ्चालनमा रोक लगाउने छ ।

सर्वसाधारण पनि निर्वाचनमा सहभागी हुने भएकाले उद्योग, कलकारखाना, व्यवसाय सबै बन्द हुने निश्चित छ ।

सवारी साधन नचलेपछि सर्वसाधारणको आवतजावत ठप्प हुने निश्चित छ ।

प्रकाशित मिति:May 3, 2022