निर्वाचन विशेष: फेरिँदै छ चुनाव प्रचार शैली

  Sampatti News

May 3, 2022

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन अब केवल ९ दिन मात्र बाँकी छ ।

म्याग्दी जिल्लामा वैशाख १० गते उम्मेदवारहरूको मनोनयन दर्ता भए लगत्तै चुनाव प्रचार अभियानले गति लिएको हो ।

यहाँ मतदाताको मन जित्न उम्मेदवारहरु घरदैलो गर्न व्यस्त छन् ।

मतदातालाई घरमा नभेटेपछि खेतबारीमै पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरुले किसानका खेतमा गहुँ काटिदिने, मकै गोडिदिने जस्ता कामहरुमा सघाए जस्तो गर्छन् र यस पटकको निर्वाचनमा आफू र आफ्नो पार्टीलाई भोट माग्दै त्यहाँबाट विदा हुन्छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिका र धवलागिरि गाउँपालिकामा पाँच दलीय गठबन्धन मध्येको नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)ले संयुक्तरुपमा उम्मेदवार खडा गरी चुनाव प्रचारप्रसार गरिरहेका छन् ।

नेकपा (एमाले) र राप्रपाले एक्लै चुनावी अभियान शुरु गरेका छन् ।

नेका, एमाले र माओवादी केन्द्रले मनोनयन दर्ता गरेदेखि नै चुनावी अभियान थालेका छन् भने राप्रपा, अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह प्राप्त भएपछि चुनावी अभियान शुरु गरेका छन् ।

म्याग्दीका केही स्थानीय तह र वडाहरुमा समेत स्वतन्त्र उम्मेदवारी परेको छ ।

स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेपछि नेका र एमालेलाई मत काटिने भय छ ।

यस पटक निर्वाचनमा प्रचारप्रसारको शैली विगतको भन्दा फरक देखिँदै छ ।

चर्को माइकिङ र गाउँ शहरमा असरल्ल देखिने पोस्टर अहिले कतै देखिएका छैनन् ।

विगतका चुनावहरूमा जस्तो भद्दा प्रचारप्रसार भने यसपटक रोकिएको अनुभूति म्याग्दीवासीले गरेका छन् ।

विगतका चुनावहरूमा यतिबेला म्याग्दीको सदरमुकाम बेनीबजार लगायत ग्रामीण भेगका सार्वजनिक स्थल, पाटी पौवादेखि सडकका भित्ता र पुलहरू उम्मेदवारका ब्यानर तथा होर्डिङ बोर्डले भरिभराउ भइसक्थे ।

यसपटक भने निर्वाचन आयोगले लागू गरेको कठोर आचारसंहिताका कारण सदरमुकाम र गाउँका सार्वजनिक स्थल, चौतारी र पर्खालहरु कुरुप हुन पाएका छैनन् ।

मनोनयन दर्तासँगै प्रचार सामग्रीहरू छाप्ने अर्डर आए पनि विगतका चुनावहरूमा जस्तो भ्याइनभ्याईको अवस्था भने नरहेको छापाखाना तथा अफसेट प्रेसका व्यापारीहरू बताउँछन् ।

आचारसंहिताका कारण ठूला ब्यानर र पर्चा पोस्टरको व्यापार खस्किएको छ ।

प्रचार सामग्रीहरूको मूल्यवृद्धि र गठबन्धनका कारण पनि माग कम आएको हुनसक्ने बेनी बजारस्थित जनता प्रेसका सञ्चालक रुद्र प्रसाद सुवेदी बताउनुहुन्छ ।

चुनाव नजिकिएसँगै प्रचार सामग्री छाप्न भ्याइनभ्याई हुने यस क्षेत्रका पसलहरूमा अहिले ग्राहक आकलझुक्कल मात्र देखिन्छन् ।

यसले निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको परिपालना राम्रैसँग भइरहेको देखाउँछ ।

उम्मेदवारहरू हिजोआज पोस्टर र ब्यानरभन्दा पनि सामाजिक सञ्जालबाट आफ्ना एजेण्डा सुनाउन सक्रिय देखिएका छन् ।

चिया पसल र चौतारीमा चुनावकै चर्चा

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी उनीहरुलाई चुनाव चिह्न प्रदान भइसकेको छ ।

उम्मेदवारले चुनावी चिन्ह पाएपछि म्याग्दीमा चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ ।

गाउँदेखि शहरसम्म, चिया पसलदेखि चौतारासम्म चुनावकै चर्चा छ ।

ग्रामीण क्षेत्रका गाउँघर र बस्ती बस्तीमा पुगेर मतदाता भेट्ने र भोट माग्ने गरिरहेका उम्मेदवारहरुले आफूले चुनाव जितेपछि जनतालाई सुविधा पुग्ने र गाउँको मुहार फेरिने वाचा मतदातासामु गरिरहेका छन् ।

बेनी नगरपालिकामा गठबन्धनले चुनाव प्रचार अभियानलाई तीव्र रुपमा अघि बढाएको नेका बेनी नगर समितिका सभापति रविन्द्र कार्कीले बताउनुभयो ।

उहाँका अनुसार नगरका १० वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरूको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन भैरहेका छन् ।

त्यसैगरी, नेका र माओवादी केन्द्र गठबन्धनले जिल्लाको धवलागिरि गाउँपालिकामा पनि उम्मेदवारी दर्ता गरेको दिनदेखि नै चुनावी प्रचार अभियान शुरु गरेको छ ।

बेनी नगरपालिकामा गठबन्धनको तर्फबाट नगरपालिकाको प्रमुखमा नेकाका चिरञ्जीवी पौडेल र उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने उम्मेदवार हुनुहुन्छ ।

उहाँहरु प्रतिबद्धता पत्र नै सार्वजनिक गरेर चुनावी प्रचारमा लाग्नुभएको हो ।

एमाले र राप्रपाको बेनी नगर समितिले पनि आइतबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए ।

उनीहरु वडागत रूपमै समयतालिका तयार गरेर भेला, सभा र घरदैलो अभियानमा जुटरहेका छन् ।

जिल्लाका अन्य स्थानीय तहमा पनि संयुक्त गठबन्धन र एमालेले चुनावी प्रचारलाई तीव्र पार्दै आएका छन् ।

शुरु भएन मतदाता शिक्षा कार्यक्रम

निर्वाचन आउन नौ दिन मात्र बाँकी रहँदासम्म म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छैन ।

यसले गर्दा बदर हुने मतको सङ्ख्या बढ्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

जिल्लामा ८५ प्रतिशत भन्दा बढी मतदाता ग्रामीण क्षेत्रका रहेका र गाउँमा अहिले खेतीपातीको कामको चापाचाप भएकाले मतदाताले निर्वाचनलाई भन्दा खेतीपातीको कामलाई बढी प्राथमिकता दिएका छन् ।

उनीहरुले भोट माग्न घरदैलोमा आएका उम्मेदवारहरुका कुरा सुन्न र मतदान गर्ने तरिका सिक्न पनि भ्याएका छैनन् ।

यस पटकको निर्वाचनमा बदर मतको प्रतिशत बढी हुने आकलन बेनी नगरपालिका–५ पुलाचौरका शिव बानियाँको छ ।

जिल्लाका केही स्थानीय तह र वडाहरुमा फरक दलबीच गठबन्धन भएर आ–आफ्नै चुनाव चिह्नबाट प्रतिष्पर्धा हुने भएकाले पनि मत बदर हुने सम्भावना बढेको स्वयं उम्मेदवारहरु नै बताउँछन् ।

बेनी नगरपालिका–२ मा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार डम्मर सापकोटाले मतदाता शिक्षाको अभावमा बदर मतको प्रतिशत बढी हुने आशङ्का व्यक्त गर्नुभयो ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारको सङ्ख्या धेरै हुने तर मतदाताले थोरैलाई मात्र मत हाल्ने गरेको विगतको नजिर रहेको छ ।

एउटा पालिकामा सात जनालाई भोट दिनुपर्ने तर, सो कुरा धेरैलाई थाहा नहुने भएकाले त्यस्तो हुने गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

धेरै मतदाताले शुरुको मतदान चिह्नमा छाप लगाएर पछिकामा नलगाउने गरेको पाइएको अनुभव जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेको छ ।

गठबन्धन गर्ने दलको उम्मेदवार नभएको पालिकामा पनि मतदान चिह्न रहने भएकाले मत खेर जाने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

अघिल्ला निर्वाचनमा स्थानीय रेडियो तथा सञ्चार माध्यमबाट सन्देशमूलक सामग्री प्रसारण गरिने गरिएकामा यस पटक त्यस्ता कार्यक्रम गरिएका छैनन् ।

यस वर्षको निर्वाचनका लागि हालसम्म मतदाता शिक्षा कार्यक्रम माथिल्लो निकायबाट प्राप्त नभएको जिल्ला निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदान गर्ने अवधि अझै दुई हप्ता बाँकी रहेकाले कार्यक्रम आए प्रभावकारी ढङ्गबाट सञ्चालन गरिने छ ।

अहिलेसम्म नमूना मतदान कार्यक्रम गर्ने भन्ने मात्र जानकारी आएको र सो कार्यक्रम शून्य समय शुरु हुनु केही दिनअघि सञ्चालन गर्ने तयारी गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति:May 3, 2022