गृह जिल्ला पुगेका अध्यक्ष नेपालले एमालेका मेयर आकांक्षीलाई ताने नेकपा एसमा

  Sampatti News

May 3, 2022

काठमाडौँ-नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानियतह चुनाबको कार्यक्रममा गृह जिल्ला रौतहटमा सक्रिय सहभागिता जनाउनु भएको छ ।

स्थानिय तह निर्बाचनको समयमा गृह जिल्ला रौतहट आउनु भएका अध्यक्ष नेपाल रौतहटको विभिन्न ठाउँको कार्यक्रममा सहभागी हुनु भएको छ ।

जिल्लाको चन्द्रपुर, वृन्दावन, गरुडा, गौर लगायतका नगरपालिकामा आफ्ना उम्मेदवारको पक्षमा भोट माग्न घरदैलो कार्यक्रममा सहभागी हुनुभएको नेता नेपालसँग जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने कल्याणी खडका, रामकुमार भट्टराई लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

नेता नेपालले रौतहटको गरुडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका मधेस प्रदेश सदस्य रामजी साह सोनारलाई टिका र माला लगाएर नेकपा एसमा प्रवेश गराउनु भएको छ ।

नेकपा एसमा प्रवेश गरेका साह गरुडा नगरपालिकाको नगर समितिद्वारा मेयर पदका लागि सिफारिश गरिएका व्यक्ति हुन्।

एमालेले गरुडा नगरपालिकामा मेयर पदमा नवप्रवेशी कन्थमनिप्रसाद कलवारलाई उम्मेदवार बनाएपछि सोनार असन्तुष्ट रहँदै आएका थिए ।

सोनारसँगै बलिराम सहनी लगायतका कार्यकर्ताहरु पनि नेकपा एसमा प्रवेश गरेका छन् ।

यसअघि नेपाली काँग्रेसबाट सिफारिश गरिएका राम भरोस राय यादव, एमालेबाट सिफारिश गरिएका राम प्रसाद साह तथा जसपाबाट सिफारिश गरिएका बृजकिशोर यादव नेकपा एसमा प्रवेश गरिसकेका छन्।

यसैबीच गरुडा नगरपालिकाको लागि मेयर पदका प्रत्याशी बृजकिशोर यादवको घरसम्म पुगेर नेता नेपालले आफ्नो पक्षका उम्मेदवारलाई सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति:May 3, 2022