आचारसंहिता पालनालाई सर्वपक्षीय बैठक

  Sampatti News

May 3, 2022

स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आव्हनमा सर्वपक्षीय बैठक आज हेटौँडामा सम्पन्न भएको छ ।

बैठकमा निर्वाचन आचारसंहिता पालना नभएको सम्बन्धमा परेको उजुरी माथि सरोकारवालाबीच छलफल भएको थियो ।

बैठकमा सहभागी सबै दलका सहभागी प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आचारसंहिता विपरीत झण्डा, ब्यानर बोकेर लाउडस्पिकरबाट गीत प्रचारप्रसार सामग्री बजाउँदै हिँडेको पाइएकाले कारबाहीको माग गरिएको छ ।

बैठकमा सहभागी नेपाल विवेकशील पार्टीका हेटौँडा १७ नम्बरका वडाध्यक्षका उम्मेदवार कृष्णदेव भण्डारीले ठूला दलले नै आचारसंहिता विपरीत काम गरेको आरोप लगाउनुभयो ।

शिक्षक तथा कर्मचारीले आचारसंहिताको बेवस्ता गरी प्रचारप्रसार गरी हिँडेको र सामाजिक सञ्जालमा उम्मेदवारको पक्षमा भोट माग्ने गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेको उजुरी परेकाले प्रमाणका आधारमा विभागीय कारबाही अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुयो ।

यसैबीच मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको उजुरी परेकाले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको जानकरी दिनुभयो ।

उनीहरुको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा कारवहीका लागि पठाइने उहाँले भन्नुभयो ।

प्रकाशित मिति:May 3, 2022