चितवनका ३१ स्थानमा बर्डफ्लु: करोडौंको क्षति

  Sampatti News

May 3, 2022

चितवन-चार महिनामा चितवनका ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ ।

कुखुरा पालनको राजधानीका रूपमा चिनिएको चितवन जिल्लामा माघ २८ गते पहिलोपटक देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको छ ।

अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ ।

बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले बताएका छन् ।

पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ । पछिल्लोपटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो ।

बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो ।

पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको छ ।

नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ । धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्याङ्क नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताए ।

रोगकै कारण करोडौंको क्षति कृषकले बेहोरेकाले पुनः कुखुरा पाल्नसमेत नसक्ने अबस्थामा कृषक पुगेको उनको भनाइ थियो ।

हालसम्मकै सङ्कटग्रस्त अबस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति:May 3, 2022