स्वतन्त्र उम्मेदवार साहद्वारा ११ बुँदे प्रतिज्ञापत्र सार्वजनिक

  Sampatti News

May 5, 2022

काठमाडौं – जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले ११ बुँदे आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ ।

साहले आज पत्रकार सम्मेलन गरी आफू नगरप्रमुखमा निर्वाचित भएपछि गर्ने प्रमुख प्रतिबद्धता समेटिएर तयार पारिएको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफू निर्वाचित भएको छ महिनाभित्र उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था गरिने, नियमित फोहर सङ्कलन तथा व्यवस्थापन, ढल निकास, फोहर सङ्कलन व्यवस्थित गर्नुका साथै वृक्षरोपण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शिक्षा, स्वास्थ्य, सुरक्षा, स्वरोजगार, खेलकुद, पर्यटन प्रवद्र्धन र सुशासनको क्षेत्रमा काम गर्ने साहले प्रतिज्ञापत्रमा उल्लेख गर्नुभएको छ । यस्तै साहले आफू निर्वाचित भएपछि स्थानीय नागरिकलाई सरल, सहज र शीघ्र सेवा प्रदान गर्न सबै काम डिजिटल माध्यमबाट गरिने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार

धनुषाको कमला नगरपालिका–१ का वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका सर्वदेव यादवका बुवामाथि धारिलो हतियार प्रहार भएको छ । आफ्नै घरमा सुतिरहेका उम्मेदवार यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि गए राति धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

लागुऔषध गाँजासहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषध पाँच किलो गाजाँसहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरबाट लागुऔषध गाँजासहित धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका ३१ वर्षीय किसुनदेव यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरमझियाबाट प्र२–०३–०१९प १९४२ नंको मोटरसाइकलमा डुमरियातर्फ जाने क्रममा जाँच गर्दा लागुऔषध गाँजा बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति:May 5, 2022