डोटीमा दुई हजार ५०० सुरक्षाकर्मी निर्वाचनमा खटिने

  Sampatti News

May 6, 2022

काठमाडौं – यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि डोटीमा दुई हजार ५०० सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

जिल्ला सुरक्षा समितिले यहाँका नौवटै स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो ।

प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको निर्वाचन सुरक्षा मजबुद बनाउने तयारी गरिएको बताउनुभयो ।

उहाँ भन्नुभयो, यस पटकको निर्वाचन भएरहित वातावरणमा सम्पन्न गराउन हामीले सुरक्षा रणनीति निकै बलियो बनाएका छौँ, निर्वाचन बिथोल्ने खालका गतिविधि भए तत्काल कारबाही गर्छौं ।

निर्वाचनका समयमा जिल्लामा नेपाली सेना ५००, म्यादी प्रहरीसहित नेपाल प्रहरी एक हजार ७०० तथा सशस्त्र प्रहरी ३०० गरी कूल दुई हजार ५०० परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने छ भने भित्री घेरामा प्रहरीको सुरक्षा रहने छ ।

निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि यहाँका नौवटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।

स्थानीय प्रशासनले जिल्लामा रहेका कूल ११५ मतदानस्थलमध्ये नौवटा लाई अतिसंवेदनशील, ३० वटा लाई संवेदनशील र ७६ वटा मतदानस्थललाई सामान्यमा राखेको प्रजिअ विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति:May 6, 2022