प्रतिगामीलाई मत दिनुभयो भने पछुताउनुपर्छ, सन्तानले दुख पाउँछन्: अध्यक्ष नेपाल

  Sampatti News

May 6, 2022

काठमाडौं-नेकपा एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपालले प्रतिगामीलाई मत दिए पछुताउनु पर्ने र सन्तानले दुख पाउँने बताएका छन् ।

पाँच दलीय गठबन्धनले शुक्रबार रत्नपार्कमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘प्रतिगामीलाई मत दिनु भयो भने पछि तपाईंहरु पनि पछुताउनुपर्ने छ । तपाईंका सन्ताहरुले दुख भोग्नुपर्ने छ । यदि हामी भविष्यलाई सुनिश्चित गर्न चाहन्छौँ भने, परिवर्तनको यात्रामा जान चाहन्छौँ भने अहिलेसम्म प्राप्ता भएको उपलब्धि जोगाउन चाहन्छौँ भने पाँच दलीय गठबन्धनको विकल्प छैन ।’

उनले प्रगतिशील लोकतान्त्रिक वामपन्थी गठबन्धनको पक्षमा मतदान गरेर प्राप्त राजनीतिक उपलब्धी जोगाउन सार्वजनिक अपिल गरेका छन् ।

उनले भने-ओलीबाट कसरी संविधान मिच्ने काम भयो ? कसरी दुईतिहाईको सरकार आफैले धुजाधुजा पार्ने काम भयो रु कसरी जनाधारको अनादार गर्ने काम भयो ? कसरी मुलुकमा भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने काम भए ? कसरी अत्यन्तै हाँस्यपद काम भए ? एकैचोटी एकैठाउँमा बसेर देशभरका पालिकामा अस्पताल उद्घाटन गर्ने काम भयो ।

६ महिना, एक वर्षपछि सम्पन्न हुने प्रयोजनहरु आजै उद्घाटन गर्ने काम भयो । पाँच वर्षपछि सम्पन्न हुने आयोजना आजै उद्घाटन हुने काम भयो । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो । त्यस्तो जात्रा देखाउनेलाई विर्सेर पनि मत दिने काम गर्नु हुँदैन ।

प्रतिगामी दक्षिणपन्थी गठबन्धनविरुद्ध सबै एकजुट हुनुपर्ने बताए । ‘अहिले दुईवटा गठबन्धनबीचको कुरा छ । एउटा प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ। त्यसको नेतृत्व नेकपा एमालेले गरिरहेको छ । केपी ओलीले गरिरहेका छन्, ’उनले भने, ‘त्यहाँ राप्रपा जस्ता राजावादी शक्तिहरु त्यो गठबन्धनमा सामेल छन् । विदेशीका सामु लम्पसार पर्नेहरु छन् । संविधान विरोधीहरु त्यस गठबन्धनमा छन् ।’

उनले अर्कोतर्फ प्रगतिशिल गठबन्धन रहेको भन्दै संविधान रक्षा गर्ने, समाजवादको बाटोमा अगाडी बढ्ने शक्तिलाई मत दिएर विजय गराउनु जरुरी रहेको बताए ।

उनले इतिहासका सबै मोडमा काँग्रेस र नेकपा सँगसँगै अगाडि बढेको इतिहास भएको भन्दै दम्भीहरु कमजोर र समाप्त हुँदै गएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले काठमाडौ महानगरपालिकालाई सुन्दर महानगरपालिका बनाउन सकिने भन्दै गठबन्धन देशका लागि आवश्यक भएकाले सोहीअनुसार गठबन्धनप्रति विश्वास गर्नसक्ने वातावरण बनाउनुपर्ने भ्रष्टाचार र कुशासनमा फस्दैनौ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।

उनले काठमाडौ महानगरका गठबन्धनका उम्मेदवारहरूले मतदातालाई यसरी प्रस्ट पार्न सके विजयको सुनिश्चित रहेको दावी समेत गरे ।

उनले कतिपय स्थानमा गठबन्धनमा रहेकाहरुले प्रतिगामी शक्तिसँग साँठगाँठ गरेर उम्मेदवारी दिएको सुनिएको भन्दै त्यस्तालाई कारवाही गरिने बताए ।

प्रकाशित मिति:May 6, 2022