निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्विरोध निर्वाचित हुनेको विवरण

  Sampatti News

May 8, 2022

काठमाडौं-निर्वाचन आयोगले उम्मेदवारीका आधारमा शनिबार निर्विरोध निर्वाचित हुनेको विवरण सार्वजनिक गरेको छ ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनमा तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्नका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै पालिका अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य १ सय जना निर्विरोध भएका छन् । प्रदेश १ मा ४३, मधेसमा ९, वाग्मतीमा ४६, गण्डकीमा ११२, लुम्बिनीमा ८, कर्णालीमा १५७ र सुदूरपश्चिममा १५ जना निर्वाचित भएका छन् ।

डोल्पाका तीन गाउँपालिकाका अध्यक्ष निर्विरोध भएका छन् ।

काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगदकुमार राना, छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा समाजवादीकै सेनाङ गुरुङ र शे–फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा, डोल्पाको काइके गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निमा बुढा, छार्का ताङसोङको उपाध्यक्षमा कर्म ढुन्डप गुरुङ र डोल्पोबुद्धको उपाध्यक्षमा समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै, एमालेका १७, कांग्रेसका १६, समाजवादीका ६, माओवादीका ३ र स्वतन्त्र ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । सबैभन्दा बढी दलित महिला सदस्य निर्वाचित भएका छन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, मनाङको नार्पाभूमि गाउँपालिका– ४ र ५, मनाङ डिस्याङ गाउँपालिका ३ र ९ तथा हुम्लाको नाम्खा गाउँपालिका–६ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् ।

कतिले दिए उम्मेदवारी ?

स्थानीय निर्वाचनमा पालिका प्रमुखमा ३ हजार २ सय ३८, अध्यक्षमा ३ हजार ९२, उपप्रमुखमा १ हजार ९ सय ६४, उपाध्यक्षमा २ हजार १ सय ६३, वडा अध्यक्षमा ३२ हजार ४ सय ९६ जनाले उम्मेदवारी दिएका छन् ।

वडा सदस्य खुलामा ५३ हजार १ सय ७३, महिला सदस्यमा २५ हजार ५ सय ९९, दलित महिला सदस्यमा २३ हजार २ सय ८५ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता नै नपरेपछि १२३ वडामा दलित महिला सदस्य खाली भएका छन् । कर्णालीका ३७ वडामा महिला सदस्यको उम्मेदवारी नै परेको छैन ।

काठमाडौं, भक्तपुर र ललितपुरमा पनि उम्मेदवारी परेको छैन । यस्तै गण्डकीमा २५, प्रदेश १ मा ६, वाग्मतीमा ३७ वडामा उम्मेदवारी परेको छैन ।

काठमाडौं भक्तपुर र ललितपुरमा मात्रै २६ वडामा दलित महिलाको पद रिक्त भएको छ  । मधेसमा ६ र सुदूरपश्चिममा १० पद रिक्त भएका छन् ।

प्रकाशित मिति:May 8, 2022