खानेतेलमा भन्सार महसुल छुट गर्न माग

  Sampatti News Online

June 6, 2022

काठमाडौं – नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गर्न माग गरेको छ । भन्सार महसुल छुट गरेर जनतालाई राहत दिनुपर्ने संघको भनाइ छ ।

संघले आइतबार पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतले उच्च महँगीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खानेतेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपाल सरकारले पनि सोही नीतिलाई अवलम्बन गर्नुपर्ने बताएको हो । संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ८७ अर्ब ६० करोड रूपैयाँबराबरको वनस्पति तेल भारत निकासी भएको जानकारी दिँदै भारतले भन्सार महसुल शून्यमा झार्दा नेपालको निकासीमा कमी आउने बताए । भन्सार महसुलका कारण नेपालको तेल उत्पादन महँगो पर्ने भएकाले नेपाल–भारत खुला सिमानाबाट अनधिकृतरूपमा सस्तो मूल्यमा भारतीय तेल चोरी पैठारी भई नेपाल भित्रिने गरेको उनले बताए । यसबाट राजस्वमा ह्रास आउने उनको भनाइ छ । उनका अनुसार हाल नेपालमा तीन लाख टन तेल खपत हुँदै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कच्चापदार्थमा लगाइएको भन्सार महसुल शून्यमा झार्नुपर्ने बताए । ‘भन्सार महसुलका कारण हरेक सामग्री महँगो पर्दैै गएको अवस्था छ, यसप्रति सरकारले पुनर्विचार गर्नुपर्छ’, उनले भने । नेपालमा उद्योग सञ्चालनका लागि जग्गा प्राप्तिदेखि अन्य धेरै समस्या रहेको भन्दै उनले सरकारले हाल ल्याएको नयाँ व्यवस्थाले नेपालका उद्योग सफ्टमा पर्नसक्ने बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले सरकारले एउटा उद्योगको संरक्षण गर्दा अर्को उद्योगलाई समस्या पार्ने नीति ल्याउन नहुने बताए ।

प्रकाशित मिति:June 6, 2022