वडाध्यक्षसहित तीनजना जेल चलान

  Sampatti News Online

June 7, 2022

काठमाडौं । रुकुम पूर्वमा महिलाको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुना राख्न आदेश भएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिंह बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो ।

सोमबार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उहाँका भाई अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पुथा उत्तरगंगा गाउँपालिका–१० की ३९ वर्षीया दुँठी बुढा भन्ने जुनमाया बुढाको हत्या आरोपमा तीनै जनालाई कारागार चलान गर्ने आदेश भएको बताउनुभयो ।

गत वैशाख १९ गते पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरामा स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवादका क्रममा जुनमायालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । निजहरु सहित नाम नखुलाइएका २० जनाबिरुद्ध २० गते किटानी जाहेरी परेको थियो भने २८ गते तीन जनालाई पक्राउ गरिएको थियो ।

अपहरणमा पर्नुभएको बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटरमाथि जङ्गलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । महिलाको कानबाट रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । मृतक जुनमायाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लिएर पोष्टमार्टमका गरिएको थियो ।

प्रकाशित मिति:June 7, 2022