हाम्रो पार्टीले मन्त्री फेर्दा अरु पार्टी तरङ्गित : अध्यक्ष नेपाल

  Sampatti News

June 8, 2022

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हाम्रो पाटीले मन्त्री फेर्दा अरु पार्टी तरङ्गित भएको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले आफूहरूले मन्त्री परिवर्तनको निर्णय गरेपछि अरू पार्टी यसरी तरङ्गित भएको बताएका हुन् ।

‘मंसिरमा चुनाव हुन्छ भनेर काम गरौं । गठबन्धन भए गठबन्धनका उम्मेदवार नभए हाम्रो उम्मेदवारलाई भोट हाल्न चुनाव चिन्हबारे अहिलेदेखि नै जानकारी दिऔं,’ उनले भने ।

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाँदा आफ्नो पार्टीलाई फाइदा नै भएको बताएका छन् । भौतिकरूपमा पनि पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको जित उदाहरण भएको उनले बताए ।

‘गठबन्धन कायम गरेका छौं । गठबन्धनले कति फाइदा कति घाटा विवेचना गरिरहेका छौँ,’ पार्टीनिकट विद्यार्थी जिल्ला विशेषको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले भने,‘अवश्य फाइदा भएको छ । भौतिक रूपमा भन्दा पोखरा शानदार जितेका छौं । हामी बाहेक कोही जित्ने थिएन । हेटौंडामा हाम्रो पार्टीले शानदार सफलता हासिल गर्‍यो ।’

तर, गठबन्धनको धेरै वकालत गर्दा पनि कमजोरी देखिएको अध्यक्ष नेपालले बताए ।

उनले भने,‘हाम्रा कमजोरी के रहे भने गठबन्धनको गीत गायौँ । भरोसा धेरै गर्‍यौं । अनि कतिपय ठाउँमा धोका पनि पायौं ।’ आफ्नै पार्टीको भरोसामा लडेको भए योभन्दा बढी सफलता हासिल गर्ने अवस्था देखिएको उनले बताए ।

‘एक्लै आफ्नै सँगठनको बलमा लडेका ठाउँमा मेयर जितेका छौँ । अध्यक्ष जितेका छौँ,’ उनले भने ।

अब गठबन्धनको भविष्यका विषयमा शंका नगर्न पनि उनले कार्यकर्तालाई सुझाए । उनले भने,‘गठबन्धनको भविष्य छैन भन्नेका पछाडि लाग्नुहुन्न । आगामी चुनाव र चुनावपश्चातसम्म लागिरहेका छौँ ।’ आफूहरू इमान्दारिताका साथ गठबन्धनमा लाग्ने र कमजोरीको आलोचना पनि गर्ने उनले बताए ।

प्रकाशित मिति:June 8, 2022