लाइन मर्मतका लागि तीन आयोजना बन्द

Nepal Cover
२९ जेष्ठ २०७९, आईतवार
image


गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ ।प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युत्गृहबाट आज दिनभर बिजुली उत्पादन बन्द गरेको हो । आज बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द गरिनेछ ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमस्र्याङ्दी–मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्रसारण लाइन बन्द भएपछि उक्त लाइनमा जोडिएका विद्युत्गृहबाट विद्युत् उत्पादन स्वतः बन्द हुने छ ।
पहिराले मध्यमस्र्याङ्दी–मस्र्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपतकालीन पुनःस्थापना प्रणाली इआरएस जडान गरी गत वर्ष २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युत्गृहबाट उत्पादित विद्युत् पनि बन्द हुने छ ।

करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्ने छ । आइतबार मध्यमस्र्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुने छ । आज आइतबार करिब साढे २०० मेगावाट मात्रै विद्युत् निर्यात हुने छ ।