कोभिड–१९ महामारीको चौथो लहर सुरु

  Sampatti News Online

July 26, 2022


सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा ५६८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । नेपालमा तीन साता यता लगातार सङ्क्रमितको संख्या तीव्र गतिमा उकालो लाीगरहेको छ । यसरी सङ्क्रमण बढ्नुको कारण ओमिक्रोनको नयाँ भेरियन्ट बीए.५ नै रहेको विज्ञहरूले बताउँछन् ।
कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक उकालो लागिरहेका कारण चौथो लहर सुरु भएको टिप्पणी पनि भइरहेको छ । नेपालमा कोभिड–१९ का अघिल्ला लहरहरू र विश्वमा फैलिएको नयाँ भेरियन्ट बीए.५ सङ्क्रमणको अवस्थालाई हेर्दा निकट भविष्यमा सङ्क्रमणको ग्राफ नेपालमा कुन तहसम्म पुग्न सक्छ भन्नेबारे पनि चासो बढेका छन् ।

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्नुको मुख्य कारण

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्नुको दुई कारण छन् । नेपालमा जब कोरोनाभाइरसको डेल्टा भेरियन्ट र ओमिक्रोन भेरियन्ट हराउँदै गयो, सङ्क्रमितको सङ्ख्या दैनिक पाँचदेखि दश जनामा सीमित भयो । त्यसपछि सबैले मास्कको प्रयोग, हातको सरसफाइ र सामाजिक दुरी कायम गर्न छाड्यौँ । विवाह, व्रतबन्ध र विभिन्न पार्टीका कार्यक्रमका कारण भिडभाड पनि बढ्दै गयो । रेष्टुरेन्ट, होटल लगायतका व्यावसायिक क्षेत्रमा भिडभाडसँगै आवतजावत बढ्न थाल्यो । जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा सङ्क्रमण दर फेरि बढ्यो ।
यस्तै, अन्य देशमा देखिएको ओमिक्रोनको नयाँ भेरियन्ट बीए. ५ नेपाल पनि देखिएको छ । यस भेरियन्टको कारण सङ्क्रमण दर बढेको हो । बीए.५ पहिला अफ्रिकी देशहरुमा देखियो, त्यसपछि क्रमशः युरोपियन देशहरुमा देखियो । छिमेकी राष्ट्र भारतमा पनि यो भेरियन्ट देखियो । त्यसपछि नेपालमा देखिएको छ । बीए. ५ भेरिन्यट संसारभर देखिएको छ । त्यही भाइरसका कारण नेपालमा पनि सङ्क्रमणको नयाँ लहर आएको भन्न सकिन्छ ।

प्रकाशित मिति:July 26, 2022