एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख किरण गुरुङले शुक्रवार विज्ञप्ति जारी गर्दै करारका कर्मचारी नहटाउन माग गरेका छन्। विज्ञप्तिमा वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको आरोप लगाइएको छ ।
एमालेले नयाँ आर्थिक वर्षको थालनीसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौं कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको भन्दै त्यसलाई रोक्न भनेको छ ।
‘नेकपा एमाले निश्चित विधि एवं प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रिया विपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भत्र्सना गर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘बहालमा रहेका सबै कर्मचारीहरूलाई नियमित रूपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दछ ।’