ट्र्याक्टर चालक मृतावस्थामा फेला

  Sampatti News Online

August 4, 2022


दिक्तेल । रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा परेका छन् । दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक रोमणराज अर्यालले बताउनुभयो । “घटनाको अनुसन्धान भइरहेका छन् । शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ , उहाँले भन्नुभयो ।

दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताउनुभयो । हिङ्माङको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।

किसनको शव शङ्कास्पद अवस्थामा फेला परेकाले छानविन नगरी परीक्षण गर्न नहुने उनका आफन्त रामकुमार हिङ्माङले माग गर्नुभयो । “बुधबार बेलुका झगडा भएको भन्ने सुन्नमा आएको छ”, उहाँले भन्नुभयो, “किसनको मृत्यु नभई हत्या भएको अनुमान गरिएको छ । यस विषयमा छानविन नगरी शव परीक्षण गर्न हुँदैन ।” हिङ्माङका श्रीमती र एक छोरा छन् । उनीहरु आफ्नै घर बाम्राङमा बस्दै आएको जनाइएको छ ।

प्रकाशित मिति:August 4, 2022