पार्टी पुनर्संरचना गर्दै जसपाः अध्यक्ष उपेन्द्र

  Sampatti News Online

August 5, 2022

जसपाले यसअघि केन्द्रीय समितिमा दुई जना अध्यक्ष रहने गरी बनाइएको अन्तरिम विधान संशोधन गर्ने निर्णय गरेका छन् । जनता समाजवादी पार्टीको केन्द्रीय समिति अध्यक्ष अब एक जना मात्र रहने भएको छ ।
अन्तरिम विधानमा ‘केन्द्रीय समितिको दुई अध्यक्षबीच कार्य विभाजन गरी केन्द्रीय समितिको अध्यक्षको हैसियतमा पार्टी कामको नेतृत्व गर्ने’ भन्ने वाक्यांशबाट ‘दुई अध्यक्षबीच कार्य विभाजन गरी’ भन्ने हटाउने गरी विधान संशोधन गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।
२०७९ असार २९ र ३० गते वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकको निर्णयलाई कार्यान्वयन गर्न २०७९ साउन १८ गते गरिएको परिपत्रमा उक्त कुरा उल्लेख छ ।
यसअघि जसपामा दुई जना महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष थिए । ठाकुरले छुट्टै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि उक्त अध्यक्ष पद रिक्त थियो । बैठकले एक जना अध्यक्ष मात्र राख्ने निर्णय गरेपछि यादव एकमात्र कार्यकारी अध्यक्ष भएका छन् ।
संघीय परिषद् अध्यक्ष १ जना, आवश्यकताअनुसार वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षहरू रहने गरी विधान संशोधन गरिने निर्णय गरिएको परिपत्रमा उल्लेख छ । यसअघि संघीय परिषद् अध्यक्ष रहेका डा। बाबुराम भट्टराईले छुट्टै ‘नेपाल समाजवादी पार्टी’ गठन गरेपछि उनको स्थानमा अशोक राईलाई संघीय परिषद् अध्यक्ष बनाइएको छ ।

जसपाले केन्द्रीय समितिलाई समेत पुनर्गठन गर्दै ४६६ सदस्यीय बनाएको छ । त्यसै गरी १५१ सदस्यीय राजनीतिक समितिसमेत चयन गरेको छ । केन्द्रीय कार्यकारिणी समिति ५३ सदस्यीय हुने निर्णय समेत गरिएको छ ।

स्थानीय तहमा भएको अन्तर्घात छानबिन गर्न समिति गठन

स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध खडा भएका, अन्तर्घात गरेका वा विपक्षीहरूसँग मिलेमतो गरी पार्टीका उम्मेदवारलाई हराउने काममा संलग्न भएकाहरूलाई कारबाही गर्नका लागि छानबिन समिति गठन गरिएको छ । अशोक लगरवारको संयोजकत्वमा विश्वनाथ पटेल, आत्माराम प्रसाद साह, भरत खड्का, दीपक कार्की सदस्य रहनेगरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

गठबन्धन कायम राख्दै विचार मिल्नेसँगको एकताको विकल्प खुला

जसपाले वर्तमान पाँच दलीय गठबन्धनलाई कायम राख्ने निर्णय गरेको छ । त्यस्तै विचार र मुद्दा मिल्ने अन्य दलहरूसँग पनि तालमेल गर्नसक्ने विकल्पलाई खुला नै राख्ने निर्णय भएको छ । जसपा अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टीलाई एकताका लागि आह्वान गर्दै आएका थिए । जसपा र लोसपाबीच एकता नभए आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तालमेल गरी जानुपर्ने दुवै पार्टीभित्र आवाज उठिरहेका बेला जसपाले उक्त विकल्प पनि खुला राख्ने निर्णय गरेको नेताहरूले बताएका छन् ।

उम्मेदवार छनोट गर्न संसदीय बोर्ड गठन

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न संसदीय बोर्ड गठन गरिएको छ । उक्त संसदीय बोर्डले केन्द्रीय कार्यकारिणी समितिमा प्रस्तावित उम्मेदवारको नाम प्रस्ताव गर्ने बताइएको छ ।
बोर्डमा प्रदेश १ मा दीपक याखा, मधेश प्रदेशमा बालकिशोर यादव, हरिनारायण यादव, गोविन्द चौधरी, बागमती प्रदेशमा लालबहादुर तामाङ, गण्डकी प्रदेशमा धनप्रसाद तामाङ, लुम्बिनी प्रदेशमा सहसराम यादव, कर्णाली प्रदेशमा वीरबहादुर शाही, सुदूरपश्चिम प्रदेशमा हेमन्त यादव सदस्य रहने गरी संसदीय बोर्ड गठन गरिएको छ । संसदीय बोर्डको अध्यक्ष केन्द्रीय समितिको अध्यक्ष नै रहने छन् भने संघीय परिषद अध्यक्ष, वरिष्ठ नेता तथा सहअध्यक्ष सदस्य रहने प्रावधान राखिएको छ ।

प्रकाशित मिति:August 5, 2022