पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा वृद्धिको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरे

  Sampatti News Online

September 7, 2022

२२ भदौ, काठमाडौँ । महासङ्घले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासङ्घको बैठकले यस्तो निर्णय गरेको महासङ्घका अध्यक्ष खगेश्वर बोहोराले बताए ।

महासङ्घले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा बाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने अध्यक्ष बोहोराले बताए ।

ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यान्वयन नभए पछि पाँचौँ पटक आन्दोलनको घोषणा गर्नुपरेको महासङ्घको भनाइ छ । निगमले ढुवानी भाडा बढाउन यस अघि ९ पटक समझदारी गरेर पनि पुरा नगरेको अध्यक्ष बोहोराले आरोप लगाए । महासङ्घले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ ।

इन्धन ढुवानीका लागि महासङ्घसँग करिब १९ सय ट्याङ्करहरू सञ्चालनमा छन् । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन गत वर्षदेखि सञ्चालन आएपछि आधाजति ढुवानीका ट्याङ्कर बिजनेस नपाएर थन्किएका छन् ।

एक वर्षपछि पेट्रोल पनि पाइपलाइनबाटै ढुवानी हुने भएपछि इन्धन ढुवानीमा ट्याङ्कर विस्थापित हुने अवस्था सिर्जना हुँदैछ । तर, ढुवानी विकल्प तयार भएपछि पनि निगमले ट्याङ्करसँगको करार भङ्ग नगरी भाडा वृद्धि गर्न पटक पटक समझदारी गरिरहेको छ ।

प्रकाशित मिति:September 7, 2022