पोखरा, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले आउने चुनावमा बुथ कब्जा गर्ने योजना बनाएको दावी गरेका छन् । पोखरामा लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गदै अध्यक्ष ओलीले कुन-कुन जिल्लाका कुन बुथ कब्जा गर्ने योजना बनेको छ भन्ने जानकारीसमेत आफूसँग रहेको बताए ।
ओलीले भने, ‘गठबन्धनले मान्छे कुट्ने, काट्ने, मार्ने, थुनाउने र बुथ कब्जा गर्ने योजना बनाएको छ । म सरकारको ध्यानाकर्षण गराउँछु र प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्छु ।’
कांग्रेसले अहिलेसम्म आफूले नगराएको चुनावमा भाग नलिने प्रष्टरुपमा भनेको स्मरण गराउँदै ओलीले धाँधली गर्नकै लागि कांग्रेसले सत्तामा बसेर चुनाव गराउने गरेको बताए । अध्यक्ष ओलीले सरकार र गठबन्धनबाट हुनसक्ने धाँधली तथा बुथ कब्जा एमालेले रोक्नुपर्ने भन्दै सबै पार्टी पंक्तिलाई सचेत रहन आह्वान समेत गरे । अध्यक्ष ओलीले गठबन्धनले अहिले एसपीपी सम्झौता जनता भड्किन्छन् भनेर रोकेपनि चुनावपछि एसपीपीजस्तै राष्ट्रघात गर्ने तयारी रहेको आरोपसमेत लगाए ।