पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु

  Sampatti News Online

September 15, 2022

३० भदौ, काठमाडौं । काभ्रेपलाञ्चोक (काभ्रे)मा बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति १ः३० बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

एसपी जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको ढंगाखानी माथिबाट झरेको पहिरोले घर तामाङको घर पुरेको हो ।

प्रकाशित मिति:September 15, 2022