म्यादी प्रहरीको भर्ना आजदेखि

  Sampatti News Online

September 15, 2022

३० भदौ, काठमाडौँ ।अगामी मङ्सिरमा हुने गइरहेको प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ ।

प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।

सूचनामा दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१/३३ इन्च, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ के.जी. भएको तथा गर्भवती नभएकोरनरहेको हुनुपर्नेछ ।

प्रकाशित मिति:September 15, 2022