September 15, 2022
३० भदौ, काठमाडौँ । अर्थ मन्त्रालयले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि हालसम्म १८ अर्ब रुपैयाँ दिने गरी स्रोत सुनिश्चित गरेका छन् । यसअन्तर्गत निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ अर्थले दिनेछ । सोही रकमभित्र रहेर कार्य सुरु गर्न अर्थले आयोगलाई भनेको छ ।
तर आयोगले भने ११ अर्ब रुपैयाँभन्दा बढी रकम अर्थमन्त्रालयसँग मागेको थियो । यता सुरक्षा निकायलाई पनि अर्थले १ अर्ब १२ करोड रुपैयाँ सवारी साधन खरिदका लागि दिने गरी खरिद प्रक्रिया अगाडि बढाउन भनिसकेको छ ।
यस्तै, निर्वाचन प्रयोजनका अन्य कार्यका लागि ७ अर्ब ६७ करोड रुपैयाँ दिने अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नेपाल प्रेसलाई जानकारी दिए । मन्त्रालयले सबैले मागे जति रकम भन्दा पनि कति खर्च लाग्छ सो आधारमा स्रोत सुनिश्चित गरिएको जनाएको छ ।
आगामी मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन हुँदैछ । आगामी निर्वाचनका लागि विभिन्न निकायले आफ्ना आफ्नै तरिकाले तयारी गरिरहेका छन् भने यता दलका नेता तथा कार्यकर्ताहरू पनि उम्मेदवारका लागि सिफारिस भइरहेका छन् ।
प्रकाशित मिति:September 15, 2022
November 24, 2024