प्रदेशसभा कार्यकाल सकियो तर सरकारी गाडीहरू नेताकै कब्जामा

  Sampatti News Online

September 20, 2022

काठमाडौं । प्रदेशसभा सदस्यको पदावधि असोज १ गते राति १२ बजेदेखि सकिए पनि पदीय सुविधा स्वरूप संसद सचिवालयले उपलब्ध गराएका गाडी फिर्ता गर्न आलटाल गरिएका छन् ।

आइतवारदेखि संसदको गाडी चढ्नु अनैतिक छन् । प्रदेशसभा सचिवालयले संसदीय समितिका सभापति र दलका नेता र प्रमुख सचेतकलाई गाडी सुविधा उपलब्ध गराउँदै आएको छ ।

सभापति, नेता र प्रमुख सचेतकले गाडीसँगै इन्धन, मर्मत खर्च पनि पाउँछन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले कसैले पनि अहिलेसम्म गाडी फिर्ता नगरेको बताए छन्।

‘हामीले अझै औपचारिक कार्यक्रम राखेर माननीय ज्यूहरूलाई बिदाइ कार्यक्रम राखेका छैनौं,’ सचिव पुनले भने, ‘गाडी अहिलेसम्म कुनै समितिका सभापति, दलको नेता र सचेतकले बुझाउनुभएको छैन ।’

लुम्बिनी प्रदेशमा ६ वटा विषयगत समिति थिए । सरकार हेरफेरसँगै डेढ वर्षदेखि रिक्त समितिले गएको साउन १३ गते मात्र पूर्णता पाएका थिए ।

संसद सचिवालयका सहायक स्टोर किपर (नायब सुब्बा) दीपेन्द्र पन्थीले कुनै समितिका सभापति, दलका नेता, प्रमुख सचेतकबाट गाडी फिर्ता नभएको बताए । पन्थीले सचिवालयका पदाधिकारी र प्रमुख सचेतकका स्वकीय सचिवहरूले चढ्ने मोटरसाइकलहरू पनि फिर्ता नगरिएका जानकारी दिए ।

सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले आफू काठमाडौंमा रहेकाले प्रदेशसभा सचिवालयलाई घरमा रहेको गाडी चालक पठाएर लैजान अनुरोध गरिसकेको बताए । उनले भने, ‘मलाई गाडीको लोभ छैन । घरमा गाडी छ । सचिवालयलाई चालक पठाएर गाडी लैजान भनिसकेको छु ।’ पन्थी पनि गएको साउनमा सभापतिमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले केही दिनभित्र गाडी संसद सचिवालयमा फिर्ता गर्ने बताए । ‘पदीय सुविधाले दिएको गाडी पद सकिएपछि फिर्ता गरिहालिन्छ नि १’ खानले भने, ‘प्रदेश सभाको कार्यकाल कहिले सकिने भन्नेमा विरोधाभास छ ।’

नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेबाट बनेका विषयगत समितिका सभापतिहरूले एकसाथ गाडी सभामा फिर्ता गर्ने तयारी गरेको बताए । अर्थ, उद्योग तथा पर्यटन समितिकी सभापति तारा जिसीले आफू गृहजिल्ला प्यूठानमा भएकाले २र३ दिनभित्र बुटवल आएर गाडी फिर्ता गर्ने बताइन् ।

राष्ट्रिय जनमोर्चाकी एकमात्र प्रदेश सांसद रहेकी जिसीले भनिन्, ‘चालक बिरामी हुनुहुन्छ । प्रदेशसभा सचिवालयसँग कुराकानी भएको छ । गाडी फिर्ता गर्छु ।’

प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले सभाको म्याद कहिले सकिने भन्ने अन्योल हुँदा गाडी फिर्ता नगरेको बताइन् । आफू जतिबेला पनि गाडी फिर्ता गर्न तयार रहेको शर्माको भनाइ छ ।

कृषि, वन तथा वातावरण समितिका सभापति जाल्ला भुसाल, सामाजिक विकास समितिका सभापति बाबुराम गौतम, भौतिक पूर्वाधार समितिका सभापति ढाँटी सुनार पनि आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छैनन् । माओवादीका प्रमुख सचेत तुलाराम घर्तीमगरले पनि गाडी फिर्ता गरेका छैनन् ।

प्रकाशित मिति:September 20, 2022