देशको नेतृत्व गर्ने इच्छा छ : रामचन्द्र

  Sampatti News Online

September 25, 2022

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्।

गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रमा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन्।

कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ’, पौडेलले भने, ‘मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस्।’

वरिष्ठ नेता पौडेलले काँग्रेसको १४ औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गरे।

निर्वाचनको दिन नजिकिँदै गरेकाले काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे।

‘गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ’, उनले भने।

काँग्रेसभित्रका नेताहरूलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो।

छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराए।

जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा काँग्रेसका नेताबीच देखिएको बेमेलले काँग्रेस कमजोर रहेको बताएका थिए

प्रकाशित मिति:September 25, 2022