नौ वटा निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुको दोहोरो दाबी, अन्य क्षेत्रमा यस्तो छ भागबण्डा

Nepal Cover
१३ आश्विन २०७९, बिहीबार
image

काठमाडौं, १३ असोज । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये ९ निर्वाचन क्षेत्रमा दलहरुले दोहोरो दाबी गरेका कारण तालमेल टुंगिन बाँकी रहेको छ ।

गठबन्धनबीच नेपाली कांग्रेसले ८५ वा ८६, नेकपा माओवादी केन्द्रले ४५ वा ४६, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र पाउने सहमति जुटेको छ।

जसमध्ये अछाम–१, बारा–४, धादिङ–१, सल्यान, नवलपरासी पश्चिम, रुपन्देही–१, धनुषा–३, महोत्तरी–३ र दैलेख–१ मा दलहरुले दोहोरो दाबी गरिरहेका छन्। सिट बाँडफाँटका लागि गठत कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदल स्रोतका अनुसार अछाम–१, बारा–४, धादिङ–१, सल्यानमा माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरेका छन्।

यस्तै नवलपरासी पश्चिम, धनुषा–३ तथा महोत्तरी–३ मा कांग्रेस र माओवादी, रुपन्देही–१ म माओवादी र जसपा र दैलेख–१ मा कांग्रेस र एकीकृत समाजवादीले दोहोरो दाबी गरिरहेका छन्।

यी हुन कांग्रेसले लिने सिट

सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ८६ सिटमा सहमति जनाउने भएको छ।

जस अनुसार प्रदेश १ मा पाँचथर, इलाम–२, झापा–१, झापा–३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी–२, ३ र ४, ओखलढुंगा,, उदयपुर–१ लिनेगरी सहमति भएको छ।

नेपालखबरलाई प्राप्त सूची अनुसार मधेश प्रदेशमा कांग्रेसले सप्तरी–३, सप्तरी–४, सिराहा–१ र २, धनुषा २, ३ र ४, महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४ लिने भएको छ।

त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप–१, सिन्धुली–१, रसुवा, धादिङ–२, काठमाडौं–१, ३, ४, ५, ६, १०, भक्तपुर– १ र २, ललितपुर–१, काभ्रे–२, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१ र २ लिने भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–१, मनाङ, कास्की, तनहुँ–१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ।

लुम्बिनी प्रदेशमा गुल्मी–१, पाल्पा–१, अर्घाखाची, रुपन्देही–३, ४ र ५, कपिलवस्तु–२ र ३, बाँके–३, दाङ–३, बर्दिया–१, नवलपरासी पश्चिम २ लिने भएको छ। त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख–१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ। सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम–२, कैलाली–१, ४ र ५, दार्चुला, डडेल्धुरा, कञ्चनपुर–२ र ३ लिने भएको छ।

माओवादी कहाँ–कहाँ   ?

सहमति अनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झापा–२, झापा–५, भोजपुर, मोरङ–४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ। यसमध्ये खोटाङ र उदयपुर–२ मा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले बतायो।

प्रदेश २ मा सिरहा–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२ र ३ लिने भएको छ। सर्लाही–२ मा जसपाले पनि दाबी गरेको छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिने बताइएको छ।

त्यस्तै, सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिने भएको छ। धादिङ–१ मा भने एकीकृत समाजवादीले पनि दाबी गरेका छन्।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपीलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने भएको छ। जसमा रुपन्देही–१ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसको पनि दाबी छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कञ्चनपुर–१ लिने भएको छ। अछाम–१ मा एकीकृत समाजवादीको पनि दाबी रहेको छ।

एकीकृत समाजवादीले पाउने सिट

एकीकृत समाजवादीले १७ सिटमा दाबी गरेको छ। जसमध्ये इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–२, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ।

अछाम–१ मा भने माओवादीको पनि दाबी रहेको छ।

जसपाले पाउने सिट

जसपाले १६ सिट लिनेगरी सहमति भएको स्रोतले जानकारी दिएको छ। जस अनुसार सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–१ र सप्तरी–२ लिनेगरी सहमति भएको छ।

जसमध्ये धनुषा–३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि दाबी छ। त्यस्तै रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ।

राष्ट्रिय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ।