अवैध भारुसहित वीरगञ्जबाट तीन महिला पक्राउ

  Sampatti News Online

October 10, 2022

काठमाडौँ । भारतसँगका सीमानाकाहरुमा प्रतिबन्धित र जाली नोट बरामद हुन थालेको छ। सोही क्रममा पर्सा प्रहरीले २८ लाख ५६ हजार प्रतिबन्धित भारतीय नोटसहित तीन महिलालाई पक्राउ गरेको छ। अवैध रुपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज नाकाबाट भित्र्याउँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट उक्त रकमसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको साविक शिखरवेसी गाविस–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्षीया मन्जु तामाङ र नुवाकोट शिख्रावेसी–७ बस्ने ४४ वर्षीया सरिता अग्रवाल रहेका छन्। भारतको रक्सौलदेखि वीरगञ्जतर्फ पैदल आउँदै गरेकी अनिताको साथबाट प्रहरीले भारतीय दुई हजार दरका नोट ५५ थान, ५ सय दरका नोट ५ हजार ३८० थान गरी २८ लाख र मन्जुको साथबाट भारतीय ५ सय दरका नोट ११२ थान गरी ५६ हजार भारतीय रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

अनुसन्धानका क्रममा अग्रवालको उक्त नोट तस्करीमा संलग्नता देखिएकोले पक्राउ गरिएको उनले बताए। प्रतिबन्धित भारुसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको गिरीले बताए। यसअघि गएको असोज २१ गते बाराबाट ८ लाख ९५ हजार नेपाली नक्कली नोटसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति:October 10, 2022