आयोगमा उजुरी: गच्छदारको मनोनयन खारेजीको माग गर्दै

Nepal Cover
२४ आश्विन २०७९, सोमबार
image

काठमाडैँ । नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका विजयकुमार गच्छदारको मनोनयन खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

गच्छदारविरुद्ध काठमाडौँ वडा नम्बर ७ का विवेक अधिकारीले उजुरी दिएका हुन्।

ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका गच्छदारलाई चुनाव लड्ने नैतिकता नभएको भन्दै उनले खारेजीको माग सहित निवेदन दिएका हुन्।

‘गच्छदारले २०४८ सालदेखि पटक-पटक त्यस क्षेत्रबाट निर्वाचित हुँदा राज्य शक्ति पद र पैसाको व्यापक दुरुपयोग गर्दै जनतालाई धम्क्याउँदै डर त्रास र प्रलोभन देखाएर निर्वाचन जितेको र मतगणनामा व्यापक धाँधली समेत गरेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन छ,’ उजुरीमा भनिएको छ, ‘निजमाथि लागेको आरोप फैसला नहुन्जेल निर्वाचनमा भाग लिन रोक लगाइयोस्।’

त्यस उजुरी सुनसरीको निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको आयोगले जनाएको छ। ललिता निवास प्रकरणमा गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।