October 11, 2022
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली छपाइलाई तीव्रता दिएका छन् ।
आयोगले केन्द्रीय कार्यालयबाट मुलुकभरका प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतदाता नामावली छपाइ कार्यलाई तीव्रता दिएको हो । जसमा मतदान केन्द्र नै तोकिएर नामावली छपाइ भइरहेको आयोगले जनाएको छ । उक्त फोटो सहितको नामावलीको प्रति निर्वाचन सामग्रीसँगै प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने आयोगको तयारी छ ।
आगामी निर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत २ हजार २९१ पुरुष र २३५ महिला गरी २ हजार ५२६ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभातर्फ ३ हजार १७९ पुरुष, २९७ महिला र अन्य १ गरी ३ हजार ४७७ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ । त्यसपछि बुधबार दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यसूची छ ।
आयोगले ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । योसँगै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारको अन्तिम संख्या टुङ्गो लाग्ने छ ।
प्रकाशित मिति:October 11, 2022
November 24, 2024