६६ बच्चाको मृत्युपछि प्रयोगमा रोक लगाइएको औषधि नेपालमा पाइन्छ ? 

  Sampatti News Online

October 11, 2022

काठमाडौं । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुघाखोकीको औषधिको सेवनका कारण ६६ बालबालिकाको मृत्यु भएको हुन सक्ने भन्दै ती औषधि सेवन नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी चेतावनी दिएका छन्।

भारतीय कम्पनीले उत्पादन गरेको चार वटा ब्रान्डका कफ सिरपको सेवनपछि गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको छ। बालबालिकाको मृत्युपछि डब्लुएचओले ती औषधि प्रयोग नगर्न सुझाएको हो। डब्लुएचओले ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ प्रयोग नगर्न भनेको हो।

भारतीय कम्पनीले उत्पादन गर्ने ती चारवटै ब्रान्डका कफ सिरप नेपालमा पाइन्छ? के ती औषधि नेपालमा दर्ता भएर बिक्री-वितरण भइरहेका छन् त?

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार ती कुनै पनि औषधि नेपालमा दर्ता भएका छैनन्। नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गर्न पाइँदैन।

ती औषधि नेपालमा दर्ता नभएको र नेपालमा पाइँदैनन्, सूचना अधिकारी सन्तोष केसीले भने ‘उक्त औषधि नेपालमा दर्ता छैन। सामाजिक संजाल र समाचारहरुमा देखेर धेरै अभिभावकहरू त्रसित हुनुभएको छ। सोहि कारण विभागले आधिकारिक रुपमा विज्ञप्ति निकाल्ने तयारी गरिरहेको छ।’

डब्लुएचओले अन्य देशमा पठाइएको औषधि समेत प्रयोग नगर्न र जाँच गर्न भनेको छ।

प्रकाशित मिति:October 11, 2022