October 12, 2022
काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका सत्तारुढ गठबन्धनका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च जाने तयारी गरेको छ ।
समाजवादीका जिल्ला अध्यक्ष अविराम विकले उम्मेदवारी खारेजीको विषयलाई लिएर सर्वोच्च जाने तयारी भएको जानकारी दिए । गुरुङसँग भने सम्पर्क हुन सकेन । बैङ्किङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भए पनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको विकले बताए ।
निर्वाचन आयोगले राजनीतिक पूर्वाग्रह राखेर उम्मेदवारी खारेज गरेकोले यसको विकल्पमा सर्वोच्च जाने तयारी भएको उल्लेख गरे । बैङ्किङ कसुर गरेको भनिएको कम्पनीले तिर्नुपर्ने रकम तिर्न खोज्दा पनि नदिइएको विकले दाबी गरे ।
निर्वाचन कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मङ्गलवार राति ११ बजे सूचना जारी गर्दै गुरुङको उम्मेदवारी खारेज भएको जनाकारी गराएका थिए ।
गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको वेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैङ्कले कालोसूचीमा राखेको थियो ।
स्वतन्त्र उम्मेदवार हिमाल बस्याल, हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा। कमल भुसाल ९निकोलस०को उम्मेदवारी पनि खारेज भएको छ । गुरुङसहित तीनै जना रुपन्देही २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धामा थिए ।
प्रकाशित मिति:October 12, 2022