पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सप्तरीमा जित्न कठिन

  Sampatti News Online

October 12, 2022

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएको छ। जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष यादवले एमालेसँग गठबन्धन गर्दै उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनबाट बाहिरिँदै यादवले एमालेसँग तालमेल गरेका हुन्। स्थानीय तहको मतलाई आधार मानेर हेर्दा यादव उठेको सप्तरी क्षेत्र नम्बर २ मा जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धनको मत बढी छ। एक्ला/एक्लै दलका रुपमा हेर्दा उक्त क्षेत्रमा जसपा ठूलो दलका रुपमा देखिन्छ। तर दुवैतर्फको गठबन्धनको मत हेर्दा भने यादवलाई निकै कम मत आउने सम्भावना देखिन्छ।

जसपा र एमालेको गठबन्धनभन्दा सत्ता गठबन्धन उक्त क्षेत्रमा धेरै मतले अगाडि देखिन्छ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रहेका छन्। सत्ता गठबन्धनबाट उक्त क्षेत्रमा लोसपाका जयप्रकाश ठाकुर उम्मेदवार छन्। उक्त निर्वाचन क्षेत्रमा जनमत पार्टीका सिके राउत पनि चुनावी मैदानमा उत्रेका छन्। तर स्थानीय तहमा भने उनको पार्टीबाट त्यति धेरै मत आएको देखिँदैन। स्थानीय तहमा मत नआए पनि राउतको आफ्नो छुट्टै छवि भएका कारण यसपटक मत बढ्न सक्ने अनुमान भने गरिएको छ।

जसपा अध्यक्ष यादव स्वास्थ्यमन्त्री हुँदा डुलुवा मन्त्रीको उपमा समेत पाएका थिए। मन्त्रालयको काममाभन्दा पार्टी र विदेश घुम्नमा मात्र उनको ध्यान थियो। उनले स्वास्थ्य मन्त्रालयमा असफल मन्त्रीको उपमा पनि पाएका थिए।

यस्तो छ स्थानीय तहको मत परिणाम
सप्तरी- २ अन्तर्गत महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिका पर्छन्। स्थानीय तह निर्वाचनमा यी ४ पालिकामध्ये २ वटामा लोसपाले प्रमुख जितेको छ। त्यस्तै, नेपाली कांग्रेस र जसपाले एउटारएउटा पालिका जितेका छन्।

गत स्थानीय तहको निर्वाचनमा सप्तरी-२ अन्तर्गत पर्ने वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा जसपा अगाडि छ। जसपाको १३ हजार १९७, कांग्रेसले ९ हजार ६६४, माओवादीले ८ हजार ९९० मत पाएका थिए। त्यस्तै, लोसपाले १० हजार १३२, एमालेले ४ हजार ८३७ र डा राउत नेतृत्वको जनमत पार्टीले ३ हजार ८७७ मत पाएको थियो।
यो आधारमा हेर्दा जसपा अध्यक्ष यादवलाई जसपा र एमालेको मत आउने देखिन्छ। जसपाको १३ हजार १९७ र एमालेको ४ हजार ८३७ मत गरेर यादवलाई १८ हजार ३४ मत आउने सम्भावना देखिन्छ।

यस्तै सत्ता गठबन्धनका तर्फबाट लोसपका उम्मेदवार जयप्रकाश ठाकुरलाई कांग्रेस, माओवादी र नेकपा एस र लोसपाको गरी ३० हजार ३४९ मत आउने देखिन्छ। सत्ता गठबन्धनको मत जसपा र एमालेकोभन्दा १२ हजार ३१५ बढी छ। स्थानीय तहको निर्वाचनपछि थपिएका मतदाता र सप्तरी दुईमा सप्तरीको सदरमुकाम राजविराज समेत पर्ने भएकाले मत तलमाथि हुने सम्भावना भने छ।

सिके राउतको पार्टीले सप्तरी जिल्लाकै दुई पालिका जितेको छ तर सप्तरी- २ अन्तर्गत पर्दैनन्। गृह पालिकामा एउटा वडाध्यक्ष जितेका डा राउत आफैं मैदानमा आउँदा फरक माहोल बन्ने अपेक्षा सो पार्टीको छ। राउत उपेन्द्र तथा उनी नेतृत्वको जसपाले हाँकिरहेको मधेस सरकारको तीव्र आलोचक पनि हुन्। त्यसैले उनले रणनीतिक रुपमै आफ्नो प्रतिस्पर्धी छनोट गरेको जस्तो देखिन्छ। त्यस्तै, डा राउतको छवि अध्ययनशील छ। उनले एउटा समूहमा आफूलाई लोकप्रिय पनि बनाएका छन्। सप्तरीको सदरमुकाम राजविराज पनि सप्तरी-२ अन्तर्गत नै पर्ने भएकाले सहरी क्षेत्रको मत तान्न सहज हुने आकलन उनको हुनसक्छ।

राउत नयाँ उम्मेदवार भएकाले पुराना उम्मेदवारलाई उनको लोकप्रियता आकलन गर्न कठिन हुन्छ। सम्भवतः यादवलाई पनि त्यही भइरहेको छ।

२०७४ को निर्वाचनमा सप्तरी-२ मा यादवले जितेका थिए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उमेशकुमार यादव थिए।

प्रकाशित मिति:October 12, 2022