बैतडीमा सत्ता गठबन्धमा दरार

  Sampatti News Online

October 13, 2022

बैतडी । बैतडीमा गठबन्धनका दलका बागी उम्मेदवारी फिर्ता नलिएपछि दरार पैदा भएको हो। नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारी दर्ता कायमै राखेको छ भने बागी उम्मेदवारी दिएका कांग्रेस नेताहरुले पनि उम्मेदवारी फिर्ता नलिएर उम्मेदवारी कायमै राखेका हुन्।

प्रतिनिधिसभाका लागि कांग्रेस नेता केशवबहादुर चन्दले आफ्नो उम्मेदवारी कायमै राखेका छन् भने प्रदेशसभाका लागि क्षेत्र नं (क)बाट पनि कांग्रेस नेता हरि मोहन भण्डारीले पनि उम्मेदवारी कायमै राखेको छ। क्षेत्र नं (क)बाटै नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दर्ता गरेका नरेन्द्र बिष्टले पनि उम्मेदवारी कायमै राखेपछि सत्तागठबन्ध संकटमा परेको छ।

गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रका नरेन्द्र कुवँर (बियजसुन्दर)ले टिकट पाएका थिए। उनको प्रतिपक्षमा अब गठबन्धनकै हितौसी कांग्रेस नेता केशव बहादुर चन्दको सामना गर्नुपर्ने छ। बैतडीबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार दामोदर भण्डारीलाई राहत मिलेको छ।

त्यसैगरी दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा गठबन्धनबाट दुबै निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट पाएको थियो। क्षेत्र नं (क)बाट कांग्रेसका वीरबहादुर बिष्टले टिकट पाएका हुन्। उनले अब नेकपा एकीकृत समाजवादीका नेता नरेन्द्र बिष्ट र नेपाली कांग्रेसबाट बागी उम्मेदवार हरिमोहन भण्डारीसँग नै भिड्नुपर्ने भएको छ। यसरी प्रदेशसभाको क्षेत्र नं (क)मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाललाई राहत मिलेको छ।

क्षेत्र नं (ख) बाट कांग्रेसका शिवराज भट्टले टिकट पाएका हुन्। क्षेत्र नं (ख)मा भने बागी उम्मेदवार छैनन्। निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका एमालेका लिलाधर भट्ट नै मुख्य प्रतिस्पर्धी हुन्।

प्रकाशित मिति:October 13, 2022