थापाथलीस्थित बागमती किनारका अनधिकृत संरचना भत्काइदै

  Sampatti News Online

October 14, 2022

काठमाडौं । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती किनारका अनाधिकृत संरचना हटाउन थालिएका छन् । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृत रुपमा संरचना बनाएर बागमती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेका थिए ।

यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएका थिए । त्यसबेला विभिन्न समूहको दबाबमा काम रोकिएकामा अहिले काठमाडौं महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको हो ।

त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, क्रियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ । थापाथली क्षेत्रमा सुकुम्वासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध पनि भइरहेको छ । सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाइ अभियानकर्मीले माग गरेका छन् ।

राजधानीमा सुकुम्वासीका नाममा नदी किनारका सार्वजनिक जग्गा कब्जा गर्नेले सबैभन्दा बढी नदी प्रदूषित बनाउँछन् । सुकुम्वासीलाई इचङ्गुनारायणमा आवासीय भवन निर्माण गरेको वर्षौं बिते पनि सर्न मानेका छैनन् । राजधानीको मुटुमा रहेको नदी किनारमै बस्न पाउनुपर्ने माग सुकुम्वासीका नाममा हुँदै आएको छ ।

प्रकाशित मिति:October 14, 2022