November 21, 2018
जिन्दगीमा हाँसो खुसी र आँसु आइरहन्छन र गइरहन्छन पनि । बालक छँदा ठूलो बन्न मन लाग्ने । ठूलो भइसकेपछि फेरि बालापन नै राम्रो लाग्ने । जे छैन त्यो खोज्ने र जे छ त्यसमा खुसी नहुने मनको रीत नै जस्तो ।
मनलाई कहिल्यै शान्ति छैन । कहिले केको अभाव कहिले केको अभाव । सायद जिन्दगी भन्नु नै अभावैै अभावको संग्रहालय पो हो कि ? कहिले पूरा होला र मनले आँटेको कुरा । सायद त्यो असम्भव भएर नै यो मनले यस्तै सोचेको हुनुपर्छ । कहिले चरी बनेर जंगलमा बेग हान्न, कहिले पानी भएर खोलाको किनारसँग खेल्न, कहिले माछा भएर पानीभित्रै डुबुल्की मार्न, छाँगाछहरा बन्न, त कहिले जुन भएर गोलो पृथ्वीलाई एकैसाथ हेर्न मन लाग्दो रहेछ ।
बालापनमा त सबैले माया नै गरेको पाएँ तर अहिले माया भन्दा क्रोध धेरै पाउँदैछु । सायद अली उमेर बढ्दै गएर पनि होला । सानोमा आमाको काखमा लडिबुडी खेल्दा, बुवाको कोटको खल्तीबाट पैसा चोरर चक्लेट किनेर खाँदा सबै जनाको माया पाउँदाको संसार त अलग्गै हुँदो रहेछ । आज आएर थाह पाउँदै छु जिन्दगी त बालापनको राम्रो । जब दिनहरु समयसँगै अघि बढे तब दुःखका दिन सुरु हुँदै गए ।
आमाको न्यानो काख र बुवाको मिठो माया । म त्यतिखेर यो सबै कुरा छुट्याउन सक्ने थिइन । कसैले मलाई माया गरेको हो कि घृणा गरेको हो त्यो पनि मलाई थाहा थिएन । सानोमा यति धेरै खुसी संगालेर हिँडेकी म हिजोआज कति टाढा पुगेकी छु सम्बन्धबाट आफैलाइ थाहा छैन ।
जिन्दगी र समयले मान्छेलाई कताबाट कता डोर्याउँदोरहेछ पत्तै नहुने । १० कक्षासम्म गाउँमै पढेका बेला संसार नै अलग्गै थियो त्यो बेलाको गाउँमा, समाज छरछिमेकी साथीसंगी आमाबुवा भाइबहिनी सबैले भरिपूर्ण जीवन हिजोआज एक्लो भएको जस्तो लाग्छ ।
कहिले दौतरीसँग मेलापात, भीरपाखा गर्ने मेरो जीवन आज कोही नभएको, कसैलाई नचिनेको सबैको बिरानो जस्तो । आफू जन्मिएको मेरो घरमा जाँदा घरले पनि पाहुना आएको जस्तो गर्दैछ । आफन्तले पनि पराई सोच्दैछन् । आफैले दाउरा घाँस, मेलापात गरेको गोठाला जाँदा बुर्कुसी मारेको जंगल अहिले मलाई नै नचिनेको भान गर्दैछ ।
यति सम्मकी आमाबुवाको त्यो न्यानो माया पनि टाढिएको जस्तो सोच्छ मन । पहिलेको जस्तो लडिबुडी कहाँ गर्न पाइन्छ र आमाको काखमा ? अनि बुवाको कोटको खल्तीबाट कहाँ त्यसरी पैसा सुटुक्क झिक्दै भाग्न पाइन्छ र ? न त मागेको कुरा पुगेन भनेर रुँदै अनि बुवा आमाले फुल्याउँदा घुक्र्याउनै पाइन्छ । त्यसैले त सबै पराइ जस्तो लाग्दैछन् ।
म त्यही दिनबाट त झनै एक्लिएको छु । जुन दिन यतिधेरै माया गर्ने, म रुँदा मसँगै रुने, मलाई चोट लाग्दा आफूलाइ दुःखेजस्तो गर्ने, मैले खुसी हुँदा संसारको सारा चिज बिर्सने, तिमीले त मलाई सँधैका लागी छोडेर गएपछि अरु मेरो को नै हुन्छ र आमा ? हिजो म तिम्रो काखमा हुँदा मलाइ कस्तो खुसी थियो ।
म रुन्थे कहिलेकाँही । तिमी सोध्यौ किन रोएको ? आज दुःख पर्दा, कुनै राम्रो काम गर्दा, सबैभन्दा पहिले आमालाई सम्झिन्छु आँखाबाट आसु झर्छन् । तर कसैले सोध्दैन कि तिमी किन रोएको ? कोही छैन आमा । तिमी थियौ, सबै थियो । तिमी छैनौ, कोही छैन ।
यति निष्ठुरी हौली भन्ने त कल्पना पनी गरेको थिइन तर तिमी निष्ठुरी रहिछौ मेरि आमा ।
हो जिन्दगी यसरी नै बितीरहेको छ । अचेल तिमीले जन्म दिएको त्यो घरमा पनी छैन आमा म अहँ बस्नै सकिन त के गरौं ? मैले त प्रयास गरेको थिए । जती टाढा तिमी छौ म खोज्दै खोज्दै त्यतै आउँ । तर सकिन । केवल तिम्रो तस्बिर, तिमीसंगका सम्झना र तिम्रा हातको स्पर्श लिएर बाँचिरहेछु ।
बुवा भन्नुहुन्छ जिन्दगी संघर्ष हो । अहिलेसम्म संघर्षको मैदानमा छ जिन्दगी भोलि के हुन्छ ? भोलि कसलाई थाह छ र भोलिको दिन आउला नआउला । म त्यही भोलिका लागि बाँचिरहेको छु । अर्को जन्म हुन्छ यदी भने तिम्रै कोखमा जन्मन पाऊँ है आमा । ——इन्द्रसरा खड्का
प्रकाशित मिति:November 21, 2018
November 23, 2024