July 9, 2020
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा ठुलो बाढी आएको छ । बाढीले लगभग एक दर्जन घर बगाएको छ भने कम्तीमा १६ जना मानिस वेपत्ता छन् । सोही बाढीले हाइड्रोपावरमा समेत क्षति पुर्याएको अनुमान छ।
जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आउनसाथ टोली परिचालन गरिएको बताए जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले बताए।
बाढीले जम्बु बजार नै बगाएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताएका छन् । मेयर शेर्पाले वडा नं. ५ र ८ को बीचमा पनि केही घरहरु बाढीले बगाएको बताए। उनले भने, ‘त्यहाँ दुई जनाको शव भेटिएको छ र करिब १८ जना वेपत्ता भएको खबर छ।’
बाढीले अरनिको राजमार्ग भत्काएको छ भने जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग समेत अवरुद्ध छ। अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल समेत बाढीले बगाएको छ । अहिले उक्त बाटो पुर्ण रुपमा बन्द छ ।
भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बर्कुटे भन्ने स्थानमा एक घर परिवार वेपत्ता भएको छ । परिवारका चार जना सदस्य रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली बोलाइएको छ । डाडे खोलाको पुल पनि बाढीले बगाएको छ । १० दिनको एक शिशु र अर्का एक बच्चाको उद्धार गरिएको छ ।
बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको पौडेलले बताए । उनले भने, ‘जिल्लाबाट हेलिकप्टर मगाउन समन्वय गरिरहेका छौं ।’
यसैबीच सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकप्टरमार्फत काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै छ ।
भोटेकोशी थुनिएर बाँध फुटेर आकस्मिक बहाव बढेको हुनसक्ने अनुमान रहेको छ ।
प्रकाशित मिति:July 9, 2020
April 16, 2025
April 16, 2025