बाँकेका विभिन्न नाकाबाट बेचबिखनमा परेका २८८ महिलाको उद्धार

  Sampatti News

August 4, 2023

काठमाडौँ । शान्ति पुनः स्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ ।

सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ ।

यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ महिलाको उद्धार गरिएको शान्ति पुनः स्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए । उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ महिला छन् । अहिलेसम्म जिल्लाका सबै नाकामा ४० हजार पाँच सय ४६ जनालाई सूचना तथा परामर्श दिएको सुवेदीले बताए ।

सुवेदीका अनुसार एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी चारवटा मुद्दा दर्ता भएका छन् । “खुला सीमा भएका कारण मानव बेचबिखन रोकथाममा चुनौती छ”, उहाँले भन्नुभयो । गरिबीका कारण अवसर खोज्दा दलालको चङ्गुलमा फस्ने खतरा रहेको उल्लेख गर्दै संयोजक सुवेदीले मानव बेचबिखनको जोखिममा रहेकाको उमेर समूह १८ देखि २५ वर्ष रहेको जानकारी दिनुभयो । पुनः स्थापना गृह बाँकेकी संयोजक सिर्जना गौतमले नयाँ(नयाँ तरिका अपनाएर मानव बेचबिखन गर्न थालिएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९ र ८० मा भारतबाट उद्धार गरिएकाको सङ्ख्या २२ रहेको छ । संस्थामा खोजतलासका लागि परेका एक सय ७२ निवेदनमध्ये एक सय २४ जना भेटिएको तथ्याङ्क छ ।

प्रकाशित मिति:August 4, 2023