यातायात व्यवस्था कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

  Sampatti News

August 4, 2023

दमौली । विसं २०७८ फागुन २७ गते स्थापना भएको यातायात व्यवस्था कार्यालय तनहुँमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

बन्दीपुर गाउँपालिका–४ विमलगनरमा सञ्चालनमा रहेको कार्यालयमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।

दरबन्दीअनुसारका कर्मचारीको अभाव र करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको कार्यालयका निमित्त प्रमुख कुशल सुवेदीले बताए । सुवेदीका अनुसार दरबन्दीअनुसारको कर्मचारी अभावमा कार्यालय सहयोगीलाई राजस्वको जिम्मा दिइएको छ । उनले भने, “ट्रायल, लिखित परीक्षा र कार्यालयको कामकाज सञ्चालन पनि उत्तिकै गाह्रो भइरहेको छ ।”

कार्यालयले आव २०७९र८० मा रु १८ करोड ७५ लाख ६४ हजार सात सय १७ राजस्व सङ्कलन गरेको छ । आव २०७८ र ७९ मा कार्यालयले रु १३ करोड ८४ लाख २१ हजार तीन सय ५६ राजस्व सङ्कलन गरेको थियो । आव २०७९ र ८० मा सवारी चालक अनुमति पत्रको ट्रायल सुरु गरिएपछि राजस्व केही बढेको हो ।

पन्ध्र स्थायी र दुई अस्थायी गरी १७ जनाको दरबन्दी रहेकामा कार्यालयमा पाँच स्थायी र छ करार गरी ११ कर्मचारी कार्यरत छन् । कार्यालयमा राजपत्राङ्कित तृतीय एक, अधिकृतस्तर छैटौँ दुई, सहायक स्तर पाँचौँ एक, सहायक पाँचौँ ९करार० तीन, कार्यालय सहयोगी एक, हलुका सवारी चालक एक तथा श्रेणीविहीन र ज्यालादारीमा एकरएक कर्मचारी छन् ।

कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमति पत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपर्थ्यो । जिल्लाबाटै ट्रायल सेवा सुरुभएपछि सेवाग्राहीलाई सहज भएको छ ।

कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमति पत्र ९लाइसेन्स०नवीकरण सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ ।

विसं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयका रूपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रूपमा स्थापना भएको हो । सेवा कार्यालयको रूपमा रहँदा सवारी साधन कर सङ्कलन, बाटो इजाजत पत्र, जाँच पाससम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता तथा नामसारी सेवा दिँदै आएको छ ।

प्रकाशित मिति:August 4, 2023