केपी ओलीले फेसबुकमा स्ट्याटस लेख्दै, “कमेन्टमा ताली र गाली मात्र होइन समस्याका तस्बिरहरु पनि आउने गर्छन्”

Nepal Cover
२१ श्रावण २०८०, आईतवार
image

काठमाडौँ । साउन महिना सकिनै लागेको छ। यति बेला कृषकका खेत–बारीका मकैले घोगा हालिरहेका छन्। दूध सुक्नै आँटेका मकै किसानले भित्र्याउन भने पाउँदैनन्। बाँदरले सखाप पारिदिन्छ। मुखमुख आइसकेको खाद्यान्न तथा नगदेबाली बाँदरले लुछलाछ पारेर सकिएदिएपछि कृषकले पाखाबारीमा खेतीपाती गर्नै छाडेका छन्। बारी बाँझिएर जङ्गलमा परिणत भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन दिनअघि लेखेको फेसबुक स्ट्याटसमा खगेन्द्र पाण्डेले यस्तै बाँदर आतङ्कको हृदयविदारक फोटो रिप्लाई गरिदिए। जहाँ बाँदरले दारेर छाडेका मकै र खोस्टामाथि एक जना वयोवृद्ध किसान सुतिरहेका छन्। छेवैमा उनकी श्रीमती पुर्पुरामा हात लगाएर बसिरहेकी छन्। यही फोटोमाथि प्रतिक्रिया जनाउँदै ओलीले कहिलेकाहीँ आफूले लेखेका पोस्टमा गरिएका कमेन्ट पढ्दै जाँदा ताली र गाली मात्र होइन, हाम्रा समस्याका तस्बिर पनि आउने बताएका छन्।

‘तीन दिनअगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नु भएको मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्बिरमा आँखा पुगे। हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो,’ उनले लेखेका छन्, ‘उहाँले तस्बिर पोस्ट गर्दै लेख्नु भएको रहेछ–यसबारे पनि केही बोल्नु । हो, अवश्य । बोल्नै पर्छ।’ उनले बोल्ने मात्र होइन तत्काल समाधान हुने गरी कदम पनि चाल्नु पनि पर्ने बताएका छन्।

‘तपाईँको जानकारीका लागि हामी सरकारमा रहेका बेला स्थानीय तहमार्फत यसको केही सुरुवात पनि गरेका थियौँ, जुन पर्याप्त नहुन सक्छ । अहिले पनि त्यसलाई निरन्तता दिँदै थप ध्यान दिनु आवश्यक छ । सबैलाई प्रतिक्रियाको लागि आग्रह गर्दछु । खगेन्द्र पाण्डेलाई धेरै धेरै धन्यवाद,’ उनले लेखेका छन्।